काठमाडौं, नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल प्रवर्द्धनका लागि पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ ।
पर्यटनलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने योजनाअनुसार नेपाल पर्यटन बोर्डले ‘कुकुर तिहार रिल प्रतियोगिता’को आयोजना गर्न लागेको हो । यसमार्फत कुकुर तिहारको सांस्कृतिक महत्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा रहेको छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाउने र पूजा गरिन्छ । यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्य प्रतियोगिताले राखेको छ ।
प्रतियोगितामा सहभागी हुनेले तयार पारेको रिल अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । सहभागीले आफ्नो भिडियो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी ह्याक्स नेपाल फेष्टिवल र ह्याक्स कुकुरतिहार ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा एटनेपालटुरिजमलाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिंक फोटोनेपाल एट एटिबी डट ओआरजी डट एनपीमा इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवद्र्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।