काठमाडौँ, नेपाल निर्माण व्यवसायी महासंघले नुवाकोटमा झोलुङ्गे पुल निर्माण गरिदिएको छ । महासंघले नुवाकोटको ढुंगेबजारदेखि महत्वपूर्ण व्यापारिक केन्द्र त्रिशुली बजार जोड्ने झोलुङ्गे पुल निर्माण गरेको हो ।
महासंघको आर्थिक सहयोगमा निर्माण भएको सो पुल सञ्चालनमा आएपछि दैनिक हजारौं लाभान्वित भएका छन् । रसुवाको बाढीपछि त्रिशुली नदीमा आएको बाढीले पुल बगाएपछि स्थानीयलाई बजारसम्म सम्पर्क स्थापित गर्ने उदेश्यले पुल निर्माण गरेको महासंघका अध्यक्ष निकोलस पाण्डेले बताए । उनका अनुसार करीब एक महिनामै २ सय ६७ मिटर लामो पुल तयार गरिएको हो । ‘यो पुल निर्माणपछि निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय कार्य गर्न सक्दैनन् भन्ने कुराको खण्डन भएको छ’, उनले भने । पुलको दशैँअगाडि नै एक कार्यक्रम गरी उद्घाटन गरिएको थियो ।
महासंघका अध्यक्ष पाण्डेले राज्य विपद्मा परेको समयमा महासंघले विगत देखि नै सबै किसिमको सहयोग गर्दै आएको बताए । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरी लगायतले महासंघले ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरेका छन् । निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले महासंघको कार्यबाट राज्यले समेत पाठ सिक्नुपर्ने बताए ।