काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको छ । भारत भ्रमणको क्रममा गत शुक्रबार एनडीटीभी वल्र्ड समिटमा मन्त्री वाग्लेले व्यक्त गरेको भनाइलाई लिएर राजनीतिज्ञ, प्राध्यापकलगायतका व्यक्तिहरूले आलोचना गरेका छन् ।
वाग्लेको भारत भ्रमणको क्रममा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरेको युग अब समाप्त भएको भनाइ सार्वजनिक भएपछि उनको अभिव्यक्तिको विरोध भएको हो । यसरी विरोध गर्नेमा प्रमुख गरी एमाले नेता प्रदिप ज्ञवाली, एमाले प्रचारप्रसार विभाग प्रमुख निरज आचार्य, राप्रपा नेता कमल थापा, प्रकाशचन्द्र लोहोनी, त्रिभुवन विश्वविद्यालय (त्रिवि)का अर्थशास्त्राका प्राध्यापक डा. तारा भूसाल र अभिनेता राजेश हमाल रहेका छन् ।
नेता ज्ञवालीले अर्थमन्त्री वाग्लेको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पु¥याउने रहेको बताएका छन् । ‘अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पु¥याउने खालको छ । विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताहरूबारे बोल्ने थलो होइन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
नेता ज्ञवालीले नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ नभएको स्पष्ट पारेका छन् । नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ थिएन । नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ । कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैँमा कुनै ‘युग’ होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन ।
अर्थमन्त्रीले कुन ‘युग’को कुरा गर्नुभएको हो ?’ उनको प्रश्न छ । नेपाल र भारतका बीचमा कतिपय समस्या छन् । सीमा समस्या, सुरक्षा छाताको आभाष दिने १९५० को सन्धिका कतिपय प्रावधान, अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनहरूले भारतीय बजारमा प्रवेश पाउन व्यहोर्नु पर्ने झन्झट, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण वर्षेनी हुने नेपाली भूमि डुबान, नेपालले स्वाभाविक रूपमा पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गमा गरिएको आनाकानी आदि । घनिष्ट छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ । समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन । यी विषयहरू उठाउनु कुनै देश विशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न भएको नेता ज्ञवालीको भनाइ छ । उनले हरेक सरकारको दायित्व यस राष्ट्रिय हितको रक्षा गर्नु भएको र यसको लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । ‘हरेक सरकारको दायित्व यस राष्ट्रिय हितको रक्षा गर्नु हो र समाधानको एक मात्र बाटो यी विषयमा बलियो राष्ट्रिय एकता र सहमति निर्माण हो र त्यसको बलमा हुने गम्भीर कूटनीतिक पहल हो । यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर्याउँछ’, उनले भने ।
एमाले नेता आर्चायले नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र रहेको यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति रहेको बताउँदै नेपालको राष्ट्रवादलाई अन्य मुलुकसँग तथा भारतसँग जोड्न नपर्ने बताएका छन् । ‘नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति छ । नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य रहँदै आएको छ । नेपालको परराष्ट्र नीति सार्वभौम समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित छ । यी आधारभूत तथ्यबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनभिज्ञ हुनुहुन्छ भन्ने लागेको छैन । तर, नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति भारत भ्रमणका क्रममा दिनुको राजनीतिक सन्देश र कूटनीतिक औचित्यबारे प्रश्न उठाउन उठ्छन । नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन, तर राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अंग हो । त्यसैले, भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउनु उचित हुँदैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
त्यस्तै नेता आर्चायले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता भएको भन्दै मन्त्री वाग्लेलाई अतिरिक्त चाकडी नर्गन समेत आग्रह गरेका छन् । ‘
नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आधारमा स्थापित छ । औपचारिक कूटनीतिक सम्बन्धदेखि आजसम्म दुवै देशबीच सहकार्य र संवाद निरन्तर रहँदै आएको छ । भविष्यमा पनि यो सम्बन्ध पारस्परिक सम्मान, विश्वास, समानता र साझा हितका आधारमा अघि बढ्नुपर्छ । छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता हो, तर त्यसका लागि आफ्ना राष्ट्रिय सरोकार र दृष्टिकोण प्रस्तुत गर्न नसक्नु र अतिरिक्त चाकडी आवश्यक छैन’, उनले भनेका छन्, ‘कूटनीति भनेको अर्को देशको आलोचना गर्नु वा प्रशंसा गर्नु मात्र होइन, आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नु हो । भारतसँग नेपालको व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटीका विषयमा सहकार्य आवश्यक छ । त्यस्तै, सीमा विवादलगायत द्विपक्षीय सरोकारका विषयमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नु पनि उत्तिकै आवश्यक छ । मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर ‘तुम सरणम’ गर्ने धारणा दुवै अतिवादी सोच हुन् ।’
उनले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने राष्ट्रले आफ्नो धारणा आफ्नै राष्ट्रिय हित र प्राथमिकताका आधारमा व्यक्त गर्नुपर्ने बताएका छन् ।
त्यसैगरी प्राध्यापक डा. तारा भूसालले अर्थशास्त्रीको रूपमा मन्त्री वाग्लेले अर्थतन्त्रका धेरै कुरा उठान गर्न सक्ने भए पनि दिल्लीलाई खुसी पार्ने भाषणको अपेक्षा नभएको भन्दै आलोचना गरेका छन् ।
उनले विश्व बैंक र संयुक्त राष्ट्र संघ विकास कार्यक्रममा लामो अनुभव बटुलेका एक स्थापित अर्थशास्त्री तथा नेपालका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा अर्थतन्त्र र क्षेत्रीय सहकार्यका कुरा उठाउनु आफैंमा सकारात्मक हो । तर, जुन मिडिया प्लेटफर्म, राजनीतिक पृष्ठभूमि र रणनीतिक समयमा अर्थमन्त्रीको वाग्लेको अभिव्यक्तिले केही गम्भीर प्रश्नहरू खडा भएको बताएका छन् ।
प्राध्यापक डा. भूसुालले कर्पोरेट÷सत्ता संरक्षित मिडियाको भाष्य, व्यापार घाटा र रणनीतिक मुद्दामा मौनता र कूटनीतिक मर्यादा र भावी सत्ताको संकेत भनि स्पष्ट पारेका छन् ।
यसैगरी व्यापार घाटा र रणनीतिक मुद्दामा मौनता बसेको भन्दै प्राध्यापक डा. भूसालले अर्थशास्त्रीय दृष्टिकोणबाट नेपाल–भारत सम्बन्धको मुख्य चुरो गैरभन्सार अवरोध, व्यापार घाटा, ऊर्जा व्यापारमा भारतीय एकाधिकार र कालापानी÷लिपुलेक जस्ता विवादित सीमा मुद्दा हुन् । तर, वाग्लेज्यूले आर्थिक सहकार्य र विपद् व्यवस्थापनका ‘सुरक्षित र हलुका’ विषयमा मात्र कुरा सीमित राख्नुभयो । यस्ता गम्भीर मुद्दालाई ओझेलमा पारेर ‘हामी सँगै जोडिएका छौँ’ जस्ता भावनात्मक शब्द प्रयोग गर्नुले काठमाडौंको कूटनीतिक साख र ‘बार्गेनिङ पावर’ नबढाउने बताएका छन् । ‘एक देशको बहालवाला अर्थमन्त्रीले अर्को देशका विदेशमन्त्रीलाई ग्यालरीबाट प्रश्न सोध्ने शैली र दिल्लीको राजनीतिक मञ्चमा प्रस्तुत हुने तरिकाले कूटनीतिक मर्यादाको पालना भयो कि भएन ? यदि यो भ्रमण आगामी दिनमा सत्ता समीकरणका लागि दिल्लीको ‘आशिर्वाद’ वा ‘वैधानिकता’ खोज्ने प्रयास हो भने, यसले नेपालको ‘स्वतन्त्र विदेश नीति’ र राष्ट्रिय स्वाभिमानमा पुनः प्रश्न उठाउँछ’, डा. भूसालले भने ।
त्यस्तै राप्रपा पूर्वअध्यक्ष एवं नेता प्रकाशचन्द्र लोहनीले परराष्ट्र नीतिमा लाग्न छोडरे मन्त्रालयको कार्यसम्पादनमा लाग्न मन्त्री वाग्लेलेलाई आग्रह गरेका छन् । ‘मन्त्री वाग्लेलाई मेरो सुझाव छ—तपाईंको पहिलो नीतिगत प्राथमिकता आफ्नो मन्त्रालयको कार्यसम्पादन सुधार गर्नु हुनुपर्छ । साथै, व्यापारमा गैरभन्सार अवरोधहरू घटाउन देखिने र ठोस पहल गर्नुहोस्, ताकि नेपालको निर्यात हुने वस्तुहरू सीमामा हप्तौँ वा महिनौँसम्म रोकिएर बस्न नपरोस् । अहिलेसम्म परराष्ट्र मामिलामा तपाईंले देखाउनुभएको सक्रियता र यस क्षेत्रमा अघि बढ्न खोजेको प्रयासको औचित्य स्पष्ट हुन सकेको छैन’, उनले भनेका छन् । ‘के बालेन नेतृत्वको सरकारले भारतलाई यही नीति अपनाउन सुझाव दिइरहेको हो ? के वाग्लेले भारतीय परराष्ट्र नीति प्रतिष्ठानप्रति सद्भाव देखाउने नाममा यस्तो रणनीति अघि सार्न खोज्नुभएको हो ? भनि प्रश्न गर्दै उनले वाग्लेले यी घोषणाहरू कसको तर्फबाट गरिरहनुभएको छ भन्ने विषयमा धेरै मानिस अन्योलमा रहेका बताएका छन् ।
यसैगरी राप्रपा नेता थापाले नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको बताएका छन् । ‘नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन । विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ’, उनले भनेका छन् ।
थापाले सानो समुहको केही अपवादमुलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु उहाँको पूर्वाग्रही चस्माको उपज भएको समेत बताएका छन् ।
त्यसैगरी अभिनेता राजेश हमालले मन्त्री वाग्लेको भनाइले पदको सीमा नाघेको आरोप लगाएका छन् । ‘अर्थमन्त्रीले आफ्नो मन्त्रालयगत अधिकारक्षेत्रको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ । उनका भनाइले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तनिष्ठ परराष्ट्र नीतिको आधारलाई नै विकृत पार्ने जोखिम उत्पन्न गरेको छ । यस्तो चाकरीपूर्ण अभिव्यक्तिले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च महत्त्व दिँदै आएको दीर्घकालीन सम्बन्धकै उपहास गरेको छ’, उनले भनेका छन् ।
अभिनेता हमालले नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र स्थायी सिद्धान्तहरूमा आधारित रहेकोले राजनीतिक स्वार्थअनुसार चल्ने विषय नभएको स्पष्ट पारेका छन् । ‘नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र स्थायी सिद्धान्तहरूमा आधारित रहँदै आएको छ । यो कुनै व्यक्तिको स्वविवेक वा राजनीतिक स्वार्थअनुसार चल्ने विषय हुनु हुँदैन । कुनै पनि पदाधिकारीले आफ्ना अभिव्यक्ति वा सर्तमार्फत यी आधारभूत मान्यतामा सम्झौता गरेर अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर बनाउनु हुँदैन’, उनले भनेका छन् ।
हाम्रो सम्बन्धको जग बलियो भए पनि यससँग आफ्नै ऐतिहासिक अनुभवहरू जोडिएका छन्, जसमा अझै समाधान हुन नसकेको सीमा विवाद र आर्थिक निर्भरतालगायतका विषय समावेश रहेको बताउदै अभिनेता हमालले भने त्यसैले वर्तमान सरकारले आफ्ना धारणा अस्पष्ट अभिव्यक्ति, खोक्रा आश्वासन वा देखावटी प्रतिबद्धतामार्फत नभई प्रमाण, स्पष्टता, निरन्तरता र सौहार्दपूर्ण संवादका आधारमा स्थापित कूटनीतिक माध्यमबाट प्रस्तुत गर्नु विशेष महत्त्वपूर्ण छ । ‘छिमेकी मुलुकसँग मित्रता कायम राख्नु र आफ्नो सार्वभौमसत्ताप्रति दृढ रहनु एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन् । यी त परिपूरक जिम्मेवारी हुन् । नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकै कारण, आफ्नो पहिचानप्रति विश्वस्त र राष्ट्रिय हितबारे स्पष्ट रहेकै कारण भरपर्दो साझेदार बन्न सक्छ र बनिरहेको छ’, उनले भने ।
एनडीटीभी वल्र्ड समिटिमा मन्त्री वाग्लेले भारत र नेपालबीचको सम्बन्धलाई ‘असाधारण रूपमा निकट’ रहेको भन्दै भारत र नेपालजसरी एकअर्कासँग जोडिएका अन्य दुई देश नरहेको बताए ।
उनले भने, ‘हामी भूगोलका कारण मात्र होइन, गहिरो सांस्कृतिक सम्बन्धका कारण पनि एकअर्कासँग जोडिएका छौँ ।’ नेपालमा संकट उत्पन्न हुँदा भारतले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरे । उनले सन् २०१५ को भूकम्पदेखि हालैको बाढीपहिरोसम्मका विपद्का घटनामा भारतले गरेको सहयोगको स्मरण गरे ।
‘हालैको विपद् अर्थात् आकस्मिक बाढीका बेला मात्र होइन, सन् २०१५ मा गएको ठूलो भूकम्पका बेला पनि भारत नै सबैभन्दा पहिले सहयोगका लागि अघि आएको थियो । मलाई सम्झना छ, भूकम्प गएको केही घण्टाभित्रै राहत सामग्री बोकेको विमान काठमाडौंमा अवतरण गरेको थियो । यसपटक पनि त्यस्तै भएको छ’, वाग्लेले भने ।
गत अगस्टमा हिमाली राष्ट्र नेपालमा ठूलो क्षति पुर्याएको आकस्मिक बाढीपछि भारतले गरेको सहयोगबारे चर्चा गर्दै मन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई तत्काल फोन गरेर सहयोगको प्रतिबद्धता जनाएको स्मरण गरे ।
उनले भने, ‘प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन शाहलाई फोन गर्नुभयो र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । हाम्रा आधिकारिक माध्यम र द्विपक्षीय संवादमा पनि भारतले सधैँ सहयोगी हात अघि बढाउँदै आएको छ । नेपाललाई जे आवश्यक पर्छ, हामी सहयोग गर्न तयार छौँ भन्ने भारतको भनाइ रहँदै आएको छ । यसले हाम्रा सम्बन्धलाई थप मजबुत बनाउँछ ।’
दुई देशबीच कहिलेकाहीँ नकारात्मक घटनाक्रम देखिए पनि सम्बन्धको आधार बलियो रहेको उल्लेख गर्दै उनले भने, ‘कहिलेकाहीँ केही असहज परिस्थिति आउन सक्छन्, तर हामी एकअर्कासँग अभिन्न रूपमा जोडिएका छौँ ।’
नेपालको नयाँ नेतृत्व विगतका नेतृत्वभन्दा फरक रहेको उल्लेख गर्दै वाग्लेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार भारतसँग अझ राम्रो सम्बन्ध स्थापित गर्न चाहेको बताए ।
‘एक समय यस्तो थियो, जब हामी नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेथ्र्यौँ । त्यो युग अब समाप्त भएको छ’, वाग्लेले भने । उनले नेपालका प्रधानमन्त्री बालेन शाहले छिट्टै भारत भ्रमण गर्ने र त्यसबाट दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने पनि बताए ।
क्षेत्रीय सहकार्यको महत्वबारे चर्चा गर्दै मन्त्री वाग्लेले युरोपेली संघको उदाहरण प्रस्तुत गरे । उनले यस क्षेत्रका देशहरूबीच पनि यस्तै व्यवस्था विकास गर्न सके सबै देशको साझा विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
उनले भने, ‘हामीले विश्वका अन्य क्षेत्रमा क्षेत्रीय एकीकरणको सफल अभ्यास देखेका छौँ । युरोपेली संघ यसको चर्चित उदाहरण हो । त्यहाँ देशहरूले आफ्नो सार्वभौमसत्ता, सीमा र आन्तरिक संस्थाहरू कायम राखेका छन् । तर साझा बजार, वस्तु, मानिस, विचार र पुँजीको आवागमनलाई अझ सहज बनाइएको छ । यसबाट सबै देशले सँगसँगै प्रगति गर्न सक्छन् । नेपालले पनि यसबाट लाभ लिन सक्नेछ भन्नेमा हामी निकै आशावादी छौँ ।’
भारतको ‘विकसित भारत २०४७’ अभियानसँग नेपालको हितलाई जोड्दै वाग्लेले भारतको आर्थिक वृद्धि र समृद्धिले नेपाललाई पनि फाइदा पुग्ने बताए । उनले भने, ‘भारतको उन्नति, आर्थिक वृद्धि र समृद्धि हाम्रा लागि असाधारण रूपमा महत्वपूर्ण छ । भारतले आफ्ना सबै छिमेकी मुलुकका लागि अवसर सिर्जना गरोस् भन्ने हामी चाहन्छौँ । यद्यपि, यस्तो लाभ स्वतः प्राप्त हुँदैन । त्यसका लागि दुई देशबीचका सम्बन्धलाई थप मजबुत बनाउनुपर्छ ।’
उनले व्यापारिक सम्बन्धको महत्व औँल्याउँदै भारतको मध्यम वर्ग समृद्ध हुँदै जाँदा विश्वभर खर्च गर्ने क्षमता बढ्ने र त्यसबाट नेपालले पनि लाभ लिन सक्ने बताए । ‘भारतको मध्यम वर्ग समृद्ध हुँदै जाँदा उसले विश्वका विभिन्न देशमा खर्च गर्नेछ । भारतीय पर्यटकहरू हाम्रो सुन्दर देश नेपालमा पनि आउनेछन् भन्ने अपेक्षा हामीले गरेका छौँ’, वाग्लेले भने ।