काठमाडौं, काठमाडौं जिल्ला अदालतले पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकोप्टर बिक्री तथा हक हस्तान्तरण कार्य रोक्का गरिदिएको छ ।
अदालतको फैसलाबमोजिम घरधनीको क्षतिपूर्ति नतिरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले निर्मल पुर्जाको हेलिकोप्टर रोक्का राखेको हो । आरोही पुर्जाको गत साउन १६ मा पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी निधन भएको छ । उनको बेलायतमा अन्त्येष्टि भइसकेको छ । नेपालमा जन्मिए पनि बेलायतको पनि नागरिकता लिएको कारण उनको शव नेपाल नल्याइ पाकिस्तानबाट सिधै बेलायत लगिएको थियो ।
निर्मल पुर्जाले अनधिकृत रूपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिन्डरको भयानक विस्फोटनबाट पूर्ण रूपमा क्षति भएको काठमाडौं कपनस्थित घरका घरधनी टंक घिसिङ र दालमु कित्तर घिसिङलाई फैसलाले तोकिएको क्षतिपूर्ति नतिरेको अभियोगमा ‘निम्स दाइ’को हेलिकोप्टर रोक्का गरेको अधिवक्ता अनन्तराज लुईंटेलले एक प्रेस नोट जारी गरी जानकारी दिएका छन् ।
अधिवक्ता लुईंटेलले घिसिङ दम्पतीलाई कानुनी सल्लाह उपलब्ध गराइरहेका छन् । निम्स दाइ लि. लन्डनको नाममा उक्त सेयर रहेको कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको सेयर लगतमा उल्लेख छ । निम्स दाइको मुत्युपछि उक्त हेलिकोप्टर बिक्रीमा रहेको सार्वजनिक रूपमा चर्चा चलिआएको छ ।
यही असोज १३ गते मंगलबारको कम्पनी रजिस्ट्रारको कार्यालयको पत्रले उक्त हेलिकोप्टर रोक्का रहेको काठमाडौं जिल्ला अदालतलाई जानकारी गराइसकेको छ । दुई वर्षअघिको काठमाडौं जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरिदिएपछि घिसिङ दम्पती फैसलाले तोकेको एक करोड १४ लाखको क्षतिपूर्तिको दाबीसहित फैसला कार्यान्वयनको प्रक्रियामा छन् भने निम्स दाइको कम्पनी जिल्ला र उच्च अदालत पाटनको फैसलाको विरुद्धमा सर्वाेच्च अदालतमा पुगेको छ ।
काठमाडौं कपनस्थित राममन्दिर लसुनटारमा रहेको विस्फोटनमा परेको घिसिङ दम्पतीको घरमा निम्स दाइको कम्पनी इलाइट हिमालयन एडभेन्चर प्रालिले अनधिकृत भण्डारण गरेको अक्सिजन ग्यास सिलिन्डर विस्फोटबाट २०७९ असोज ५ मा घिसिङ दम्पतीको घर पूर्ण रूपमा ध्वस्त भएको थियो । इलाइट हिमालयन एडभेञ्चर प्रालिका अन्य सञ्चालहरू मिङमा ग्याबु शेर्पा भन्ने मिङमा डेभिड शेर्पा र मिङमा तेन्जी शेर्पासमेत सो मुद्दामा प्रतिवादी छन् । मिड्मा ग्यावु शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीको ताप्लेजुङ जिल्लाका समानुपातिक सांसद छन् ।
साविक कपन गाविस वडा नं. ५ को हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको भव्य साढे दुईतले आरसीसी पक्की घर निम्स दाइको कम्पनीले भाडामा लिई कार्यालय सञ्चालन गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, बुढालीनकण्ठ नगरपालिकालगायतका निकायमा धाउँदा समेत भाडावाला कम्पनीले मौखिक र लिखित रूपमा क्षतिपूर्ति व्यहोर्न कबुल गरे पनि क्षतिको रकम नदिएपछि घरधनी घिसिङ दम्पती पाँच वर्षदेखि कानुनी लडाइँमा छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई आवश्यक अनुसन्धान गरी उचित क्षतिपूर्तिको लागि पहल गरिदिन सिफारिस गरे पनि मौखिक र लिखत प्रतिबद्धताका बाबजुद पीडित घरधनीले भाडावाला निम्स दाइको कम्पनीबाट क्षतिको रकम नपाएपछि मुद्दा परेको थियो ।