कञ्चनपुर, दशैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ ।
भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दशैँ मनाउन घर फर्किने गरेका छन् । देहरादुन रोजगारी गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पनि आफ्ना पाँच जना साथीसँगै चाडपर्व मनाउन घर फर्किँदै गर्दा गड्डाचौकी नाकामा भेटिए । देहरादुनमा हामीहरू रोडमा काम गर्छौ दशैँ मनाउन घर फर्किएका हौँ । उनले भने, ‘दशैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ ।’ नेपालमा रोजगारी नहुँदा यहाँबाट थुप्रै मानिस मजदुरीका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेको उनको भनाइ थियो ।
कालीकोटका निगेन्द्र शाहीले पनि हिमाञ्चल प्रदेशबाट चाडपर्व मनाउन घर फर्किएको बताए । हिमाञ्चलमा खेतीपातीको काम गर्छौँ, त्यसको कमाइले घरखर्च चलेको छ । उनले भने, ‘दशैँ मनाउन आउँछौ तिहारपछि फर्किने हो ।’ उनले आफूसँगै रोजगारीका लागि गएकाहरू पनि चाडपर्व मनाउन दशैँको बेला घर फर्किने र चाडपर्वपछि रोजगारीका लागि पुनः भारत जाने गरेको बताए । मसुरियाका मीनबहादुर कठायतले पनि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्ने गरेका छन् । गत वर्ष चाडपर्व सकेर रोजगारीमा गएका उनी दशैँ सुरु भएपछि घर फर्किएका छन् । सधैँ दशैँमा यही नाका भएर घर फर्किन्छौँ, आवतजावतमा समस्या छैन । उनले भने, ‘चाडपर्वपछि काममा फर्किन्छु ।’
चाडपर्वको समयमा घर फर्किने यात्रुको चाप बढेपछि यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायताकक्षसमेत स्थापना गरेको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकीनाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेको बताए । उनले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताए । गड्डाचौकीनाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ । उनले भने, ‘नाका र बसपार्कमा तालिमप्राप्त कुकुर परिचालन गरेर पनि सुरक्षा जाँच भइरहेको छ ।’ चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
भारतबाट आउनेहरूमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरू नाकामा डेङ्गु, मलेरिया, एचआइभीलगायतका छ प्रकारका रोगको चाँज भइरहेको छ । रासस