वीरगञ्ज, जिल्ला प्रहरी कार्यलय पर्साले वीरगञ्जबाट करिब २१ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले २० लाख ९० हजार ४१० रुपैयाँ बराबरका भन्सार छली गरी भित्र्याएको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले सोमबार अपराह्न भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका कपडा तथा खाद्यान्नलगायतका सामान बरामद गरिएको जानकारी दिए । बरामद सामानमा सर्टिङ–सुटिङका कपडा, महिलाका कुर्ता–सुरुवाल, बालबालिकाका विभिन्न प्रकारका कपडा तथा खाद्यान्नलगायतका वस्तु रहेका छन् । प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाएको जनाएको छ ।