काठमाडौँ, कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त प्रणाली सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ अनलाइन सेवामार्फत तथा सिधै ह्वाट्सएप नम्बर ९८५१४६००८५ मा सम्पर्क गरी खातासम्बन्धी सोधपुछ, बैंकिङ सेवा अनुरोध तथा गुनासो दर्ता गर्न सक्नेछन् । यस प्रणालीमार्फत ग्राहकले शाखामा उपस्थित नभई बैंकका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिन सक्नेछन् ।
‘केएस मित्र’ बाट बैंकका शाखा तथा सम्पर्क नम्बर, उपलब्ध सेवा तथा सुविधा, ब्याजदर, सेवा शुल्कलगायत सामान्य बैंकिङ जानकारी सहजै प्राप्त गर्न सकिनेछ । त्यस्तै, ग्राहकको पहिचान तथा खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम, सीआरएन, डीम्याट तथा केवाईसीसम्बन्धी जानकारीसमेत लिन सकिने बैंकले जनाएको छ । यस प्रणालीमार्फत खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसासम्बन्धी विवरण परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने तथा त्यसको अवस्था बुझ्नेजस्ता सेवा पनि उपलब्ध हुनेछन् । यसले ग्राहकलाई सामान्य बैंकिङ सेवाका लागि शाखासम्म पुग्नुपर्ने बाध्यता कम गर्नुका साथै समय र श्रम बचत गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
ग्राहकले ‘केएस मित्र’ मार्फत खोजेको जानकारी तत्काल उपलब्ध हुन नसकेमा प्रणालीले स्वचालित रूपमा टिकट जारी गर्ने व्यवस्था गरिएको छ । यसबाट ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको अभिलेख राख्न, फलोअप गर्न र समाधान प्रक्रियालाई व्यवस्थित बनाउन सहज हुने बैंकको विश्वास छ । बैंकले ‘केएस मित्र’ लाई नेपाली बैंकिङ क्षेत्रमा डिजिटल ग्राहक सेवाको नवीन आयामका रूपमा लिएको छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गरी ग्राहकलाई सहज रूपमा बैंकिङ जानकारी उपलब्ध गराउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउने लक्ष्यसहित यो सेवा सञ्चालनमा ल्याइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकका अनुसार ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवालाई थप सहज बनाउने यो पहल बैंकको ‘फ्युचर रेडी’ अवधारणाअनुरूप अघि बढाइएको हो । बदलिँदो प्रविधि र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले डिजिटल सेवाको विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । यसका साथै बैंकले ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर विशिष्ट बचत खातामार्फत उपलब्ध गराउँदै आएको डोरस्टेप बैंकिङ सेवालाई समेत डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई प्राथमिकता दिएको छ । यसले ग्राहकलाई आफ्नो आवश्यकता र सुविधाअनुसार बैंकिङ सेवा प्राप्त गर्न थप सहज वातावरण निर्माण गर्ने बैंकको भनाइ छ ।