काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित निकालेको हो ।
सुदूरपश्चिमले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छ्याएको साविक विजेता लुम्बिनीले ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेका हुन । त्यसैगरी आसिफ शेखले ३२ जोडे । निरोशन डिक्वेलाले ७ रन बनाए भने शमिम हुसेन एक तथा कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाएको थियो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे । त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९ रन बनाउँदा इसान पाण्डेले ७ रन बनाए ।
बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक–एक विकेट लिए । आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गरेका थिए । उक्त प्रतियोगिताको खेल हेर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित उच्च अधिकारीको उपस्थिति थियो । एनपीएलमा आज मंगलबार दुई खेल हुनेछ । मध्याह्न १२ः३० मा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने अपराह्न ४ः३० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोट्ल्सबीच प्रतिस्पर्धा हुनेछ ।