काठमाडौं, भूकम्पबाट हुन सक्ने क्षति तथा नोक्सानीको सम्बोधन गर्न आवश्यक वित्तीय स्रोत शीघ्र जुटाउने उद्देश्यले नेपाल सरकार र विश्व बैंक समूहबीच विपद् क्याटास्ट्रोफी बन्ड (विपद् बन्ड) विकासका लागि साझेदारी घोषणा गरिएको छ ।
यस सम्बन्धमा नेपाल र विश्व बैंक समूहअन्तर्गतको पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी) बीच कार्यादेश सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताले नेपालको समग्र विपद् जोखिम व्यवस्थापन रणनीतिलाई सहयोग पुर्याउन पुँजी बजारको उपयोग गर्न सकिने सम्भावनाको अध्ययन गर्ने सहकार्यको सुरुवात गरेको छ ।
विश्वमै विपद्को उच्च जोखिममा रहेका मुलुकमध्ये एक नेपालले सम्भावित विपद्को सामना गर्न, त्यसबाट हुने क्षति न्यूनीकरण गर्न तथा विपद्पछिको पुनरुत्थानलाई प्रभावकारी बनाउन जोखिम न्यूनीकरण, पूर्वतयारी र वित्तीय सुरक्षाका विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । प्रस्तावित क्याटास्ट्रोफी बन्डले यस्ता प्रयासलाई थप वित्तीय आधार प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ ।
सम्झौताअन्तर्गत विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र पुँजी बजारका लगानीकर्तासँग सहकार्य गरी क्याटास्ट्रोफी बन्ड विकास तथा जारी गर्न सकिने वित्तीय सम्भाव्यता र त्यसको सम्भावित संरचनाबारे अध्ययन गर्नेछ । यस अध्ययनले प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने आर्थिक दायित्व व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय पुँजी बजारबाट स्रोत जुटाउने सम्भावनाको मूल्यांकन गर्नेछ ।
क्याटास्ट्रोफी बन्ड प्राकृतिक विपद्जन्य जोखिम हस्तान्तरण गर्न प्रयोग गरिने वित्तीय उपकरण हो। यस्ता बन्डमार्फत विपद्सम्बन्धी निश्चित सर्त पूरा भएमा पूर्वनिर्धारित व्यवस्थाअनुसार उपलब्ध हुने वित्तीय स्रोतले प्रभावित मुलुकलाई विपद्पछिको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक रकम जुटाउन सहयोग गर्न सक्छ ।