काठमाडौंं, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने ह्रासको जोखिमलाई सम्बोधन गर्ने गरी सूचकांकमा आधारित नयाँ बीमालेख जारी गरेको छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर कम्पनीले ‘अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्राससम्बन्धी बीमालेख’ जारी गरेको हो । बीमालेख असोज ७ गतेदेखि मंसिर ७ गतेसम्म लागू हुनेछ ।
कम्पनीका अनुसार बीमालेखअन्तर्गत कैलाली, कञ्चनपुर, धनुषा, सिराहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तुका धान उत्पादक किसान समेटिएका छन् । उक्त बीमालेख जारी गर्न सम्बन्धित साझेदार संस्थासँग कम्पनीले सहकार्य गरेको जनाएको छ ।
बीमालेखमा प्रति कट्ठा एक हजार पाँच सय ९५ रुपैयाँ बीमांक रकम कायम गरिएको छ । बीमालेख जारी भएकै पहिलो दिन असोज ७ गते करिब एक हजार तीन सय पाँच किसानको बीमा गरिएको कम्पनीले जनाएको छ। उनीहरूको करिब तीन हजार तीन सय चार कट्ठा क्षेत्रफलको धान बीमामा समेटिएको छ ।
तीन दिनको अधिकतम सञ्चित वर्षाका आधारमा क्षतिपूर्ति
यस बीमालेखको विशेषता किसानको खेतमा भएको वास्तविक क्षतिको व्यक्तिगत मूल्यांकन नगरी तोकिएको तीन दिनको अधिकतम सञ्चित वर्षा (मिलिमिटर) को सूचकांकका आधारमा क्षतिपूर्ति प्रदान गरिनु हो ।
तोकिएको वर्षा सूचकांकले बीमा भुक्तानीका लागि योग्य अवस्था देखाएमा किसानले छुट्टै दाबी फाराम, कागजात वा अन्य दाबी विवरण बुझाउनुपर्ने छैन । सूचकांकका आधारमा भुक्तानीयोग्य रकम निर्धारण भएपछि क्षतिपूर्ति रकम किसानको बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यसले दाबी प्रक्रियामा लाग्ने कागजी झन्झट तथा समय घटाउने कम्पनीको विश्वास छ । सूचकांकमा आधारित बीमामार्फत अत्यधिक वर्षाका कारण धान उत्पादनमा कमी आइ किसानले व्यहोर्नुपर्ने आर्थिक जोखिमलाई सरल, पारदर्शी र प्रविधिमैत्री प्रक्रियाबाट
व्यवस्थापन गर्न सहयोग पुग्ने सलिकोले जनाएको छ ।