काठमाडौंं, सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले अध्यक्ष तुक प्रसाद पौडेलको सभापतित्वमा सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार सेयर पुँजीको आठ दशमलव २५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण सेयरधनीहरूको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे २२औँ वार्षिक साधारणसभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।
बैंकले आर्थिक वर्ष २०८२/०८३ मा तीन अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी बैंकको कुल सम्पत्ति दुई खर्ब ९१ अर्ब २१ करोड, कुल निक्षेप दुई खर्ब ४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी दुई खर्ब तीन अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।