दोलखा, दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे ६ महिना नबित्दै उक्किन थालेको छ ।
निर्माण कम्पनीले गत असारमा गरेको कालोपत्रे असोजमा नै भत्किन थालेको छ । महालक्ष्मी–कञ्चनजङ्घा–शुभकामना जेभीले कालोपत्रे गरेको बागखोर–कालापानी खण्डका दर्जनभन्दा बढी स्थानमा सडक भत्किएको छ । कतिपय ठाउँमा कालोपत्रे उक्किएर सडक हिलाम्मे बनेको छ भने निर्माण कम्पनीले करिब १३ किलोमिटर सडक कालोपत्रे गरेर बाँकी काम अधुरै छाडेको छ । २०७५ सालमा सिन्धुपाल्चोकस्थित पूर्वाधार विकास कार्यालयअन्तर्गत मुडेबाट बागखोर हुँदै कालापानीसम्मको करिब १६ किलोमिटर सडक कालोपत्रे दुईवर्षभित्र सक्नेगरी ३१ करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर दुई वर्षभित्र उक्त काम हुन नसकेपछि ठेक्का सम्झौता तोडिएको थियो । पछि २०८१ असोज १८ गते पूर्वाधार विकास कार्यालय दोलखाअन्तर्गत कालोपत्रे गर्ने जिम्मेवारी महालक्ष्मी–कञ्चनजङ्घा निर्माण सेवासहित तीन निर्माण कम्पनीको संयुक्त उपक्रम (जेभी) ले पाएको थिए ।
२०८१ सालसम्म करिब १० किलोमिटर सडक कालोपत्रे भएको थियो । त्यसपछि बाँकी खण्डको काम अघि बढाइए पनि अझै पूर्णता पाउन सकेको छैन । निर्माणको मुख्य जिम्मेवारी लिएको शुभकामना निर्माण सेवाका प्रमुख ईश्वर बाँस्कोटासँग बाँकी काम र भत्किएको सडकबारे प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् । यता पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले कालोपत्रे गरिएको सडकमा समस्या देखिएको स्वीकार गरे । उनले कालोपत्र उक्किएको ठाउँमा तत्काल मर्मत तथा सुधार गर्न लगाइने बताए । उनका अनुसार करिब तीन किलोमिटर सडकको काम अझै बाँकी छ । दशैँ–तिहारपछि पनि काम सम्पन्न नगरे आगामी कात्तिक मसान्तसम्म ठेक्का तोड्ने तयारी गरिएको उनले जानकारी दिए । उनले समयमै काम नसकेका कारण निर्माण कम्पनीलाई १० प्रतिशतका दरले हर्जाना तिराइरहेको बताए ।
सडकको दुरवस्थाले शैलुङ आउने पर्यटक, स्थानीयवासी र किसान समस्यामा पर्ने गरेका छन् । रातको समयमा शैलुङ पुग्ने पर्यटकलाई हिलाम्मे सडकका कारण थप समस्या हुने गरेको पर्यटन व्यवसायी दिनेश श्रेष्ठले बताए । किसानले पनि सडककै कारण कृषि उपज ढुवानीमा कठिनाइ भएको गुनासो गरेका छन् । शैलुङ क्षेत्रमा वार्षिक ५० देखि ६० करोड रुपैयाँ बराबरको आलु, काउली, बन्दा, मुला र गाजरलगायत तरकारी राजधानीसहित विभिन्न बजारमा निर्यात हुने गरेको छ । सडकको अवस्था सुधार नहुँदा कृषि उपज ढुवानी प्रभावित हुनुका साथै पर्यटन व्यवसायमा समेत असर परेको छ ।