मानव सभ्यताको इतिहास वास्तवमा ज्ञान, चेतना र प्रविधिको निरन्तर विकासको इतिहास हो । ढुङ्गाका औजारदेखि औद्योगिक क्रान्तिसम्म र कम्प्युटरदेखि कृत्रिम बुद्धिमत्तासम्म आइपुग्दा मानिसले प्रकृतिका अनेक रहस्य बुझ्ने र आफ्नो जीवनलाई सहज बनाउने प्रयास गरेको छ । आज कृत्रिम बुद्धिमत्ताले मानिसले गर्ने अनेक काम सिक्ने, सूचना विश्लेषण गर्ने, भाषा बुझ्ने, तस्वीर निर्माण गर्ने र निर्णय प्रक्रियालाई सहयोग गर्ने क्षमता प्रदर्शन गरिरहेको छ । यसले मानव सभ्यतालाई नयाँ सम्भावनाको ढोकासम्म पुर्याएको छ ।
प्रविधिको विकास आफैँमा मानव कल्याणको सुनिश्चितता होइन । त्यसको वास्तविक मूल्यांकन यसले मानिसको जीवन कति सहज बनायो भन्ने आधारमा मात्र होइन, मानिसको गरिमा, स्वतन्त्रता, समानता र नैतिक चेतनालाई कति सुरक्षित राख्यो भन्ने आधारमा पनि गर्नुपर्छ । कृत्रिम बुद्धिमत्ताले अनेक अवसर सिर्जना गरिरहेको छ, तर यसको अनियन्त्रित प्रयोगले समाजमा नयाँ प्रकारका असमानता, निर्भरता र जोखिम जन्माउन सक्छ । त्यसैले आजको आवश्यकता प्रविधिको विरोध गर्नु होइन, प्रविधिको दिशालाई मानवीय मूल्यअनुकूल बनाउनु हो ।
मानिसको निजी जीवन उसको स्वतन्त्रताको आधार हो । विचार, भावना, पारिवारिक सम्बन्ध, व्यक्तिगत रुचि र दैनिक व्यवहार उसका निजी अस्तित्वका महत्त्वपूर्ण पक्ष हुन् । तर डिजिटल युगमा यी विवरण विभिन्न अनुप्रयोग, सामाजिक सञ्जाल र अनलाइन सेवामार्फत संकलन तथा विश्लेषण भइरहेका छन् । कृत्रिम बुद्धिमत्ताले यस्ता तथ्यांकबाट व्यक्तिको रुचि, व्यवहार र सम्भावित निर्णयसमेत अनुमान गर्न सक्छ । यसले सुविधासँगै गम्भीर प्रश्न पनि उठाउँछ—हामी प्रविधि प्रयोग गरिरहेका छौँ कि प्रविधिले हाम्रो व्यवहारलाई प्रभावित गरिरहेको छ?
व्यक्तिको सहमतिविना निजी विवरणको संकलन, अनुचित निगरानी र संवेदनशील सूचनाको दुरुपयोगले नागरिक स्वतन्त्रतालाई कमजोर बनाउन सक्छ । अनुहार पहिचान गर्ने प्रणाली, आवाजको नक्कल गर्ने प्रविधि र व्यक्तिगत विवरणको स्वचालित विश्लेषणले सुरक्षा तथा गोपनीयताबीच नयाँ द्वन्द्व सिर्जना गरेका छन् ।
लोकतान्त्रिक समाजमा नागरिकको सुरक्षा आवश्यक छ, तर सुरक्षाका नाममा व्यक्तिगत स्वतन्त्रता समाप्त हुनु हुँदैन । मानिसको गोपनीयता कुनै व्यापारिक वस्तु होइन; यो उसको गरिमा र स्वायत्ततासँग जोडिएको अधिकार हो । त्यसैले प्रविधिको विकाससँगै व्यक्तिगत तथ्यांकको सुरक्षा, सूचित सहमति र जवाफदेहितालाई पनि समान महत्त्व दिनुपर्छ ।
औद्योगिक क्रान्तिले मानव श्रमको स्वरूप परिवर्तन गरेझैँ कृत्रिम बुद्धिमत्ताले पनि श्रमबजारमा व्यापक परिवर्तन ल्याउन सक्छ । तथ्यांक प्रशोधन, नियमित लेखन, ग्राहक सेवा, अभिलेख व्यवस्थापन र दोहोरिने प्रकृतिका कतिपय काम स्वचालित प्रणालीबाट गर्न सकिन्छ । यसले उत्पादनशीलता बढाउन र लागत घटाउन मद्दत पुर्याए पनि केही पेसा तथा कामदारमाथि विस्थापनको दबाब सिर्जना गर्न सक्छ ।
विश्व आर्थिक मञ्चको फ्युचर अफ जब्स रिपोर्ट २०२५ ले सन् २०३० सम्म विश्वव्यापी रूपमा करिब १७ करोड नयाँ रोजगारी सिर्जना हुने र ९ करोड २० लाख रोजगारी विस्थापित हुने अनुमान गरेको छ । यो कृत्रिम बुद्धिमत्ताको मात्र प्रभावसम्बन्धी अनुमान होइन; प्रविधि, आर्थिक परिवर्तन, जनसांख्यिक अवस्था र अन्य प्रवृत्तिसमेत यसमा समावेश छन् । यसले रोजगारीको भविष्यमा परिवर्तनसँगै नयाँ अवसर र चुनौती दुवै रहने संकेत गर्छ ।
नेपालजस्तो विकासशील देशमा यसको प्रभाव अझ संवेदनशील हुन सक्छ । डिजिटल सीप, गुणस्तरीय शिक्षा र प्रविधिमा पहुँच सीमित भएका श्रमिकले नयाँ अवसर प्राप्त गर्न कठिनाइ भोग्न सक्छन् । अर्कोतर्फ, ठूलो पुँजी र उन्नत प्रविधिमा पहुँच भएका संस्थाले बढी लाभ प्राप्त गर्दा आर्थिक असमानता बढ्ने सम्भावना रहन्छ । त्यसैले प्रश्न मेसिनले मानिसको काम गर्छ कि गर्दैन भन्ने मात्र होइन । मुख्य प्रश्न प्रविधिबाट सिर्जना हुने लाभ कसले प्राप्त गर्छ र त्यसबाट उत्पन्न जोखिमको भार कसले वहन गर्छ भन्ने हो । न्यायपूर्ण विकासका लागि सीप विकास, पुनर्तालिम, श्रमिक संरक्षण र अवसरको समान वितरण आवश्यक छन् ।
मानव समाज विश्वास, संवाद र साझा सत्यको आधारमा सञ्चालन हुन्छ । नागरिकले प्राप्त सूचनाको विश्वसनीयतामाथि भरोसा गर्न नसक्ने अवस्था सिर्जना भयो भने लोकतान्त्रिक संवाद र सामाजिक सम्बन्ध दुवै कमजोर हुन्छन् । कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएका नक्कली तस्बिर, भिडियो, आवाज र समाचारले यही विश्वासमाथि चुनौती सिर्जना गर्न सक्छन् ।
कुनै व्यक्तिले नबोलेको कुरा बोलेको जस्तो देखाउने भिडियो, नक्कली आवाजमार्फत गरिने आर्थिक ठगी र वास्तविक घटनाजस्तै देखिने भ्रामक सामग्रीले व्यक्तिको प्रतिष्ठा तथा संस्थाको विश्वसनीयतामा क्षति पु¥याउन सक्छन् । निर्वाचन, सार्वजनिक बहस र संकटका समयमा यस्ता सामग्रीको दुरुपयोगले नागरिकको निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्छ । यसको अर्को गम्भीर पक्ष के हो भने झुटा सामग्री मात्र होइन, वास्तविक सामग्रीलाई समेत नक्कली भनेर अस्वीकार गर्ने प्रवृत्ति बढ्न सक्छ । जब मानिसले कुनै प्रमाणमाथि विश्वास गर्न सक्दैन, तब सत्यको खोज कमजोर हुन्छ र पूर्वाग्रहले स्थान पाउँछ ।
कृत्रिम बुद्धिमत्ताले साइबर सुरक्षामा जोखिम पहिचान गर्ने र आक्रमणको प्रतिरोध गर्ने अवसर दिएको छ । तर यही प्रविधि अपराधीले पनि दुरुपयोग गर्न सक्छन् । स्वचालित ठगी सन्देश, व्यक्तिको आवाजको नक्कल, लक्षित फिसिङ र सामाजिक अभियांत्रिकीका विधि अझ विश्वसनीय बन्न सक्छन् ।
यसले व्यक्तिगत बैंकिङ विवरण, व्यावसायिक गोप्य सूचना र सरकारी प्रणालीको सुरक्षामा चुनौती सिर्जना गर्न सक्छ । ऊर्जा, सञ्चार, वित्त, स्वास्थ्य र सार्वजनिक सेवाजस्ता महत्त्वपूर्ण क्षेत्रमा साइबर आक्रमण हुँदा यसको प्रभाव व्यक्तिगत क्षतिमा मात्र सीमित रहँदैन; राष्ट्रिय अर्थतन्त्र र सार्वजनिक विश्वाससमेत प्रभावित हुन सक्छन् ।
नेपालमा डिजिटल सेवाको विस्तारसँगै साइबर सुरक्षालाई विकासको अनिवार्य आधारका रूपमा लिनुपर्छ । प्रविधि खरिद गर्नु मात्र पर्याप्त हुँदैन । सुरक्षित प्रणाली, दक्ष जनशक्ति, नियमित परीक्षण, आपत्कालीन प्रतिक्रिया र अन्तरनिकाय समन्वय आवश्यक हुन्छ ।
कृत्रिम बुद्धिमत्ताले तथ्यांकका आधारमा निर्णय गर्न सक्छ, तर तथ्यांक सधैँ निष्पक्ष हुन्छ भन्ने छैन । समाजमा विद्यमान विभेद, असमानता र ऐतिहासिक पूर्वाग्रह तथ्यांकमा प्रतिविम्बित भएका छन् भने तिनै तथ्यांकबाट प्रशिक्षित प्रणालीले पनि अन्यायपूर्ण परिणाम दिन सक्छ ।
कृत्रिम बुद्धिमत्ताको सबैभन्दा सूक्ष्म प्रभाव मानिसको सोच्ने बानीमा पर्न सक्छ । कुनै पनि प्रश्नको उत्तर तुरुन्त प्राप्त हुने सुविधा आकर्षक छ । तर हरेक समस्याको समाधान तयार रूपमा खोज्ने बानी बस्यो भने मानिसले आफैँ प्रश्न गर्ने, प्रमाण खोज्ने, गल्तीबाट सिक्ने र स्वतन्त्र निष्कर्ष निकाल्ने अभ्यास कम गर्न सक्छ ।
विशेषतः शिक्षामा यसको प्रभाव गम्भीर रूपमा विचार गर्नुपर्छ । विद्यार्थीले एआईबाट निबन्ध, गणितीय समाधान वा परियोजना तयार गराउन सक्छन् । उचित मार्गदर्शनमा यसले सिकाइलाई सहयोग गर्छ । तर उत्तर बुझ्ने प्रयास नगरी तयार सामग्रीलाई आफ्नै ज्ञानका रूपमा प्रस्तुत गर्दा वास्तविक सिकाइ कमजोर हुन सक्छ ।
ज्ञान भनेको सूचनाको सङ्ग्रह मात्र होइन । ज्ञानलाई बुझ्ने, विश्लेषण गर्ने, अनुभवसँग जोड्ने र विवेकपूर्ण निर्णयमा प्रयोग गर्ने क्षमता पनि हो । कृत्रिम बुद्धिमत्ताले जानकारी दिन सक्छ, तर त्यस जानकारीलाई जीवनको अनुभव, नैतिकता र सामाजिक उत्तरदायित्वसँग जोड्ने काम मानिसले नै गर्नुपर्छ ।
मानिस सामाजिक प्राणी हो । उसको जीवन केवल भौतिक आवश्यकताबाट पूर्ण हुँदैन; प्रेम, विश्वास, सहानुभूति, आत्मीयता र पारस्परिक सहयोग पनि उत्तिकै आवश्यक छन् । कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणालीले सूचना दिन, एक्लोपनको समयमा साथजस्तो अनुभव गराउन र केही भावनात्मक आवश्यकतामा सहयोग गर्न सक्छन् ।
कृत्रिम बुद्धिमत्ताको युगले मानव सभ्यतासामु एउटा गहिरो प्रश्न राखेको छ—हामी कति बुद्धिमान् मेसिन निर्माण गर्न सक्छौँ भन्ने मात्र महत्त्वपूर्ण हो, कि ती मेसिन प्रयोग गर्ने मानिस कति विवेकी छन् भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ?
प्रविधिको तीव्र विकासले मानिसलाई धेरै काम गर्न सक्षम बनाउन सक्छ, तर त्यसले मानिसलाई स्वतः नैतिक, न्यायपूर्ण र संवेदनशील बनाउँदैन । गति बढ्नु र सही दिशामा अघि बढ्नु फरक कुरा हुन् । सूचना बढ्नु र ज्ञान गहिरिनु पनि एउटै कुरा होइन । त्यसैगरी, स्वचालन विस्तार हुनु र मानव कल्याण सुनिश्चित हुनुबीच पनि स्वतः सम्बन्ध स्थापित हुँदैन ।
कृत्रिम बुद्धिमत्ताको वास्तविक परीक्षा त्यसले कति जटिल काम गर्न सक्छ भन्नेमा मात्र सीमित छैन । त्यसको प्रयोगले समाजमा न्याय बढायो कि असमानता, नागरिक स्वतन्त्रता सुरक्षित ग¥यो कि गोपनीयता कमजोर बनायो, मानव सिर्जनशीलतालाई प्रोत्साहित ग¥यो कि निर्भरता बढायो भन्ने प्रश्न अझ महत्त्वपूर्ण छन् । मानिसले आफ्नो सिर्जनालाई नियन्त्रण गर्ने क्षमता गुमायो भने प्रगति नै नयाँ प्रकारको पराधीनता बन्न सक्छ । त्यसैले कृत्रिम बुद्धिमत्ताको विकाससँगै मानवीय विवेक, नैतिक चेतना र सामाजिक उत्तरदायित्वको विकास पनि अनिवार्य छ ।
प्रविधि मानव जीवनको साधन हो, साध्य होइन । मेसिनले गणना गर्न सक्छ, सूचना विश्लेषण गर्न सक्छ र निर्णय प्रक्रियालाई सहयोग गर्न सक्छ; तर कस्तो समाज निर्माण गर्ने, कुन मूल्यलाई प्राथमिकता दिने र प्रगतिलाई कसको हितमा प्रयोग गर्ने भन्ने प्रश्नको उत्तर मानवीय विवेकले नै दिनुपर्छ । मानव सभ्यताको भविष्य कृत्रिम बुद्धिमत्ताको उचाइले मात्र निर्धारण गर्दैन; त्यसलाई निर्देशित गर्ने मानवीय चेतनाको गहिराइले पनि निर्धारण गर्छ । यही चेतना, नैतिकता र उत्तरदायित्वको सन्तुलनले मात्र प्रविधिलाई मानव कल्याणको साधन बनाउन सक्छ । (लेखक नेपाल सरकारका उपसचिव हुन् ।)