काठमाडौं, ब्रिटिस काउन्सिलले ‘साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ । तीनदिने सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा सिर्जनशीलता, समावेशिता र प्रविधिमार्फत विद्यार्थीहरुलाई बदलिँदो विश्व परिवेशमा कसरी सक्षम बनाउन सकिन्छ भन्ने बिषयमा सम्वाद गर्न लागिएको हो । जुलाई २३–२५ मा हुने सम्मेलनमा सिर्जनशीलता, समावेशी शिक्षण, कृत्रिम बुद्धिमत्ता (एआई)को उपयोग तथा बदलिँदो विश्व परिवेशअनुसार विद्यार्थीलाई आवश्यक सीप विकास गर्ने विषयमा छलफल हुनेछ । ब्रिटिस काउन्सिलका अनुसार दक्षिण एसियाका शैक्षिक प्रणालीले पाठ्यक्रम, प्रभावकारी मूल्यांकन र विद्यार्थीको बदलिँदो आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेका बेला सम्मेलन आयोजना गरिएको हो । संस्थाले अंग्रेजी भाषा अझै पनि शैक्षिक, प्राज्ञिक तथा व्यावसायिक अवसरमा पहुँचको महत्वपूर्ण माध्यम रहे पनि शिक्षण अब भाषा सिकाइमा मात्र सीमित नरही आलोचनात्मक सोच, सहकार्य, विद्यार्थीको सक्रिय सहभागिता र सिकाइप्रतिको स्वामित्व विकासतर्फ केन्द्रित हुन थालेको जनाएको छ ।
सम्मेलनमा बहुभाषिक कक्षाकोठालाई थप समावेशी बनाउने उपाय, नवप्रवर्तनमुखी शिक्षण अभ्यास तथा एआईलाई मानव–केन्द्रित शिक्षणको पूरकका रूपमा प्रभावकारी उपयोग गर्ने विषयमा प्रस्तुति, अनुभव आदान–प्रदान र अभ्यासमा आधारित छलफल हुनेछन् । ब्रिटिस काउन्सिलले सम्मेलनले दक्षिण एसियामा प्रयोग भइरहेका प्रभावकारी शिक्षण अभ्यास र स्थानीय सन्दर्भमा अपनाइएका समाधानबारे सहभागीलाई जानकारी दिने तथा कक्षाकोठामा सिकाइको गुणस्तर सुधार र विविध पृष्ठभूमिका विद्यार्थीका लागि अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले वर्तमान विश्व परिवेशमा विद्यार्थीका लागि प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास अपरिहार्य बनेको उल्लेख गरे । सम्मेलनले अनुसन्धानमा आधारित व्यावहारिक शिक्षण रणनीति शिक्षक र सरोकारवालासमक्ष प्रस्तुत गर्ने उनले बताए । व्यावसायिक क्षमता अभिवृद्धिका लागि सम्मेलन महत्वपूर्ण हुने उनको विश्वास छ ।