क्यानबेरा, अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार अर्थशास्त्रीहरूले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार जुनदेखि जुलाईसम्म रोजगारीमा रहेका व्यक्तिको संख्या १५ हजार ८०० ले घट्दा बेरोजगारको संख्या चार हजार २०० ले बढेको छ । जुलाईको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछि उच्चमध्ये एक हो । एबीएसका श्रम तथ्यांक प्रमुख सीन क्रिकका अनुसार जुलाईमा पुरुषको रोजगारी ११ हजार र महिलाको पाँच हजारले घटेको छ । आंशिक समय काम गर्ने महिलाको संख्या २२ हजारले घटे पनि पूर्ण समय काम गर्ने महिलाको संख्या १७ हजारले बढेको उनले बताए ।