काठमाडौं, गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै स्वामित्वमा निर्मित नवनिर्मित भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ केन्द्रीय कार्यालयको बुधबार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले विधिवत् समुद्घाटन गरेका हुन् ।
नयाँ कार्यालयको उद्घाटनसँगै हालसम्म काठमाडौंको लाजिम्पाटबाट सञ्चालन हुँदै आएको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण भएको हो । आफ्नै स्वामित्वको अत्याधुनिक भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रामा नयाँ अध्याय थपिएको जनाएको छ ।
बैंकले २०६४ साल कार्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो । त्यसपछि २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय सारेको थियो। करिब दुई दशक लामो यात्रापछि बैंक आफ्नै स्वामित्वको भवनमा प्रवेश गरेको हो । नवनिर्मित केन्द्रीय कार्यालयको समुद्घाटन समारोहसँगै कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजासमेत आयोजना गरिएको थियो ।
समुद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायका पदाधिकारी, गरिमा विकास बैंकका सञ्चालक समितिका सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारी, सेयरधनी, कर्मचारी र ग्राहकसहित उल्लेख्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै २०७३ सालमा काठमाडौं पुगेको र अहिले आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै संस्थाको यात्रामा अर्को महत्वपूर्ण अध्याय सुरु भएको बताए । उनले बैंकको सफल व्यावसायिक यात्रामा लाखौँ ग्राहक, हजारौँ सेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार संस्था तथा कर्मचारीहरूको विश्वास, निरन्तर सहयोग र मेहनत महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। संस्थागत सुशासनलाई बैंकको दीर्घकालीन सफलताको महत्वपूर्ण आधारका रूपमा समेत उनले जोड दिए ।
त्यस्तै, समारोहको समापन सत्रमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले आगामी दिनमा ग्राहकलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राख्दै बैंकलाई थप सशक्त रूपमा अघि बढाउने बताए ।
बैंकले हाल देशभर एक सय २६ वटा शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधिमा आधारित विभिन्न बैंकिङ सुविधामार्फत ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।