काठमाडौं, महिला तथा सीमान्तकृत समुदायका लागि नेपालमा स्वास्थ्य तथा हिंसा प्रतिकार्य कार्यक्रम सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि चार अन्तर्राष्ट्रिय संस्थाले सम्झौता गरेका छन् । नेपालका लागि नर्वेली राजदूतावास र स्विट्जरल्यान्ड सरकारको विकास सहयोग (एसडीसी)को आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो कार्यक्रम गर्न लागेका हुन् ।
महिला, बालिका, किशोरकिशोरी तथा सीमान्तकृत समुदायको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा लैङ्गिक हिंसा प्रतिकार्य सेवा सुदृढ गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । ६० लाख अमेरिकी डलरको लागतमा सञ्चालन हुने दुईवर्षे ‘एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवं लैङ्गिक हिंसा सेवाका लागि प्रणाली सुदृढीकरण’ कार्यक्रम कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका २० पालिकामा कार्यान्वयन हुने जनाईएको छ । कार्यक्रमले संघ, प्रदेश र स्थानीय तहमा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक प्रतिकार्य सेवा प्रवाह गर्ने क्षमता अभिवृद्धिमा जोड दिनेछ । साथै, स्वास्थ्य तथा संरक्षण सेवामा पहुँच बढाउन समुदायस्तरमा समेत सचेतना विस्तार गरिने जनाइएको छ ।
नर्वेको राजकीय दूतावास, काठमाडौंका हेड अफ कोअपरेसन तथा डेपुटी हेड अफ मिसन बोर्ड हेल्डेले लैङ्गिक समानता र हिंसामुक्त जीवनका लागि नर्वेको दीर्घकालीन सहयोग जारी रहने बताए । स्विट्जरल्यान्ड दूतावासका चार्ज द अफेयर्स ए.आई. म्याथियास मायरले लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति तथा यौन तथा प्रजनन स्वास्थ्य सेवा आवश्यक पर्ने सबैलाई गुणस्तरीय सेवा उपलब्ध गराउन प्रणाली सुदृढ गर्नुपर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारलाई दीर्घकालीन तथा दिगो सेवा प्रवाहका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले नेपालले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा लैङ्गिक हिंसाका क्षेत्रमा नीति र संरचना निर्माणमा प्रगति गरे पनि ती प्रतिबद्धतालाई नागरिकले प्रत्यक्ष रूपमा पाउने गुणस्तरीय सेवामा रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए । नेपालका लागि डब्ल्यूएचओकी कार्यवाहक प्रतिनिधि डा. एलिसन गोकोतानोले स्वास्थ्य प्रणालीको क्षमता सुदृढ
गर्ने, क्लिनिकल मापदण्ड परिष्कृत गर्ने र स्वास्थ्यकर्मीलाई एकीकृत तथा गुणस्तरीय सेवा प्रवाहका लागि सहयोग गर्ने बताइन् । यूएनएफपीएको प्रजनन अधिकार तथा लैङ्गिक हिंसा प्रतिकार्यसम्बन्धी विज्ञता र डब्ल्यूएचओको स्वास्थ्य प्रणाली तथा गुणस्तर मापदण्डसम्बन्धी प्राविधिक क्षमतालाई एकीकृत गर्दै कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।