ढाका, बंगलादेशले बिहीबार सत्तारूढ दलका अनुभवी नेता मिर्जा फखरुल इस्लाम आलमगिरलाई देशको राष्ट्रपति चयन गरेको छ । बंगलादेशको संसद्मा राष्ट्रपतिका लागि भएको निर्वाचनमा ७८ वर्षीय आलमगिर सत्ताधारी दलका तर्फबाट २५५ मत पाएर विजयी भएका हुन् । जमात–ए–इस्लामी नेतृत्वमा रहेको विपक्षी ११ दलीय गठबन्धनले मनोनयन गरेका एकमात्र प्रतिस्पर्धी ओली अहमदले ८८ मत मात्र पाएका छन् ।
प्रमुख निर्वाचन आयुक्त ए एम एम नासिर उद्दिनले निर्वाचन परिणाम घोषणा गर्दै भने, ‘आलमगिर सत्ताधारी दलका तर्फबाट २५५ मतसहित निर्वाचित भएका छन् । विपक्षी गठबन्धनको समर्थन प्राप्त अहमदले ८८ मत गर्नुभएको छ ।’ यससँगै कुल १७ करोड जनसंख्या भएको बंगलादेशमा आलमगिर २३ औँ राष्ट्रपति बनेका छन् । उनी यसअघि, बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का महासचिव र स्थानीय प्रशासन मन्त्री थिए ।
पूर्ववर्ती राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जुलाईमा दिएको राजीनामापछि राष्ट्रपतिको चयनका लागि बिहीबार निर्वाचन भएको हो । पूर्वप्रधानमन्त्री शेख हसिनाका नजिकका सहयोगी मानिने ७६ वर्षीय शहाबुद्दिनलाई हसिनाको विदेश पलायनपछि भएको निर्वाचनबाट बनेको सरकारबाट राजीनामा दिन दबाब परिरहेको थियो । ‘चुप्पु’ भनेर चिनिने उनलाई सन् २०२३ मा चुनिएको थियो तर उनले कार्यकाल सकिने समय अगावै स्वास्थ्य समस्या देखाएर राजीनामा दिनुभएपछि यो प्रक्रिया अघि बढेको थियो । उहाँको कार्यकाल सन् २०२८ मा सकिनुपर्ने थियो ।
मतदानअघि आलमगिरले बंगलादेशको समाचार संस्था (बिएसएस) सँग दिएको प्रतिक्रियामा भनेका थिए, ‘म एउटा खुसी, समृद्ध र कल्याणमुखी राज्यको सपना देख्छु, जहाँ सीमान्तकृत समुदाय, मेहनती मानिस र दैनिक ज्यालादारी गर्ने मजदुरहरूले दिनमा दुई छाक खानाका लागि सहज व्यवस्था गर्न सकियोस् ।’ यो निर्वाचन ३५ वर्षपछि बंगलादेशको राष्ट्रपति पदका लागि एकभन्दा बढी उम्मेदवार भिडेको पहिलो चुनाव हो। यसअघि संसद्बाट राष्ट्रपति चुनिने अन्तिम निर्वाचन सन् १९९१ मा भएको थियो ।
मत परिणाम आएपछि ८७ वर्षीय अहमदले भने, ‘हामी तपाईंबाट ठूलो आशा राख्छौँ। व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिएर देशको सेवा गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’ यसैबीच, आलमगिर राष्ट्रपति निर्वाचित भएसँगै चीनले उनलाई बधाई दिएको छ । ढाकास्थित चिनियाँ उच्च आयोगले जारी गरेको विज्ञप्तिमा ‘नयाँ युगमा साझा भविष्य’ को आशा व्यक्त गरिएको छ ।
अनुभवी राजनीतिज्ञ
प्रधानमन्त्री तारिक रहमानको बीएनपीले फेब्रुअरीमा ठूलो बहुमतका साथ चुनाव जितेको थियो । यो सन् २०२४ को जनविद्रोहपछि शेख हसिना सरकार ढलेपछिको पहिलो चुनाव थियो ।
पूर्वप्रधानमन्त्री हसिना अहिले भारतमा रहँदै आएकी छिन् । उनले ढाकामा चलिरहेको मुद्दामा उपस्थित हुन अस्वीकार गरेका छन् । गत नोभेम्बरमा उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको थियो ।
अधिकारवादी समूहहरूले हसिना प्रशासनमाथि प्रतिद्वन्द्वीहरूको हत्या, विपक्षी दलहरूलाई दमन, अदालतलाई पक्षपाती बनाउने र एकपक्षीय चुनाव गराउनेजस्ता आरोप लगाउँदै आएका थिए । आलमगिरको जन्म २६ जनवरी १९४८ मा भएको हो । उनले ढाका विश्वविद्यालयमा अध्ययनरत रहँदा राजनीतिमा प्रवेश गरेका थिए । उनलाई एक कुशल अर्थविद्का रूपमा समेत हेरिन्छ ।
सन् १९६९ मा पाकिस्तानी सैन्य शासनविरुद्धको विद्रोहमा उनी प्रमुख विद्यार्थी नेता थिए । यही आन्दोलन बंगलादेशको सन् १९७१ को स्वतन्त्रताको आधार बनेको थियो । अर्थशास्त्रको पढाइ र अध्यापनपछि उनी सरकारी सेवामा प्रवेश गरेका थिए । पछि राजनीतिमा आएका थिए । कृषि, हवाई यातायात र पर्यटन मन्त्रीसहित विभिन्न पद सम्हालेका उनले हसिनाको कडा शासनकालमा विपक्षी नेताका रूपमा चर्चा कमाएका थिए । त्यसबेला बिएनपीकी प्रमुख खालिदा जिया जेलमा थिइन् भने उनका छोरा तारिक रहमान निर्वासनमा थिए ।
आलमगिर आफैँ हसिना सरकारका पालामा पटकपटक पक्राउ परेका थिए । उनीमाथि राजनीतिक रूपमा पक्षपातपूर्ण तवरले दर्जनौँ मुद्दा लगाइएको थियो ।
बिएसएसका अनुसार कठिन समयमा पनि बिएनपीलाई सङ्गठित राख्ने र पार्टीको राजनीतिक उपस्थिति जोगाउने कामका लागि उनको बंगलादेशमा प्रशंसा गरिन्छ । आलमगिरको विवाह सेवानिवृत्त वित्तीय अधिकारी रहत आरा बेगमसँग भएको हो । उनीहरूका दुई छोरी छन् । राष्ट्रपतिको रूपमा आलमगिर राज्य प्रमुख र सशस्त्र बलका सर्वोच्च कमाण्डर बन्नेछन् । रासस/एएफपी