सर्लाही, सर्लाहीको मलङ्गवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक नजिकै ट्रयाक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज१त ५२४६ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्रा गरिरहेकी गोडैता नगरपालिका–५, की २० वर्षीया गुरियाकुमारी गुप्ताको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले गुप्तालाई लगत्तै प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । प्रहरीले युवतीको शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको जनाएको छ ।
प्रहरीले घटनालगत्तै ट्रयाक्टर चालक गोडैता नगरपालिका–११ का १७ वर्षीय अजय साहलाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक गौतमले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए । मृतक युवती मलङ्गवास्थित सर्लाही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्यनरत थिइन् ।