काठमाडौं, भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ ।
भीषण बाढी तथा डुबानका कारण सयौँ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौँ बेपत्ता भएको तथा बस्ती, सडक, पुललगायतका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेपछि सयौँ परिवार विस्थापित हुनुपरेको घटनाप्रति कम्पनीले प्रभावित नागरिकहरूप्रति हार्दिक सहानुभूति प्रकट गरेको छ । विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आईएमई लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार विपद्को यस कठिन समयमा उपलब्ध गराइने उक्त सहयोगले बाढी प्रभावित नागरिकको खोज तथा उद्धार, खाद्यान्न व्यवस्थापन, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाकालदेखि नै मुलुकमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गर्दै आएको जनाएको छ । पछिल्लो प्राकृतिक विपद्को विषम परिस्थितिमा पनि प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिरहेका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित सबै निकायप्रति उच्च सम्मान र आभार प्रकट गरेको छ ।