काठमाडौं, भदौ १० गते बुधबार बिहान भोटेकोशी नदी (त्रिशूली) नदीबाट आएको लेदोसहितको तीव्र गतिको बाढीले रसुवा र नुवाकोटको धेरै बजार क्षेत्रलाई तहसनहस पार्यो ।
धादिङतर्फका केही क्षेत्रमा बाढीको असर पर्यो । तर शनिबारसम्म पनि वास्तविक क्षतिको अध्ययन नै सुरु भएको छैन । क्षतिको वास्तविक अध्ययन सुरु नभएको मात्र होइन, क्षति पुगेका धेरै क्षेत्रमा अझै सरकार पुग्न सकेको छैन । नुवाकोटको विदुर आसपासमा रुमल्लिएको सरकार नुवाकोट र रसुवाको सीमाको वेत्रावती बजार र विदुरको पारि अर्थात् त्रिशूली नदीको पश्चिम किनार बुधसिंहघाटदेखि गौरीबेसी हुँदै तुप्चे र सोलेबजार क्षेत्रका पीडितलाई राहत सामग्री पुर्याउन समेत सकिरहेको छैन ।
राहत सामग्री बजार क्षेत्रका पीडित व्यापारीलाई भए पनि बढी किसान वर्गलाई चाहिएको छ । त्रिशूलीतिरको पश्चिम किनाराका नागरिक अधिकांश किसान छन् । त्रिशूली बजारबाहेक । तर त्यही क्षेत्रमा राहत पुगेको छैन । त्रिशूली नदीको पश्चिम किनारामा रहेका ती पीडितलाई न त यातायातको सुविधा छ, न त राहत सामग्री नै । देवीघाट, ढुंगेबजारजस्ता क्षेत्रलाई बाढीले तहसनहस पारे पनि काठमाडौंस“ग सिधै पहुँच छ । तर त्रिशूली नदीपश्चिमका रसुवा, नुवाकोट र धादिङका बस्तीलाई काठमाडौं दुर्गम छ । त्यो क्षेत्रका अधिकांश भागमा सरकारले बिजुली बत्ती बाल्न पनि सकेको छैन ।
शनिबारसम्म पनि फसेका नागरिकलाई सरकारले उद्धार त गरेको छ तर बाढीको पहिलो झट्का लागेको रुकुमको माथिल्लो क्षेत्रमा सरकारले उपस्थिति नै जनाउन सकेको छैन । सरकारले ढिला सुनेको कारण बाढीले घर बगाएभन्दा नबगाएका नागरिक बढी प्रभावित बन्ने देखिएको छ । सरकारले बेलिब्रिज राख्न र सडकमा थुप्रिएको गेग्रान सफा गर्न नसकेको कारण यातायात सेवा ठप्प छ । यातायात साधन चलाउन नसकेको कारण रसुवा, नुवाकोट र धादिङका कैयौं गाउँका नागरिकले खाद्यान्न, पेट्रोलियम पदार्थलगायतका वस्तुको अभाव झेल्नुपर्ने देखिएको छ ।
‘राहत त पाइएन’, विदुर नगरपालिका ३ का कुमार साहले भने, ‘बेलिब्रिज नराखिदिएको कारण किनेर खान्छुभन्दा पनि खानेकुरा पाइन्न ।’ विदुर ३ को सबै भाग बेलकोटगढी नगरपालिका र विदुरसँग त्रिशू्रली नदीले छ्ट्याइदिएको भाग हो । त्रिशूली नदीपूर्वको विदुरसँग त्रिशूली नदीले छ्टयाइदिएको भाग हो । त्रिशूली नदीपूर्वको विदुरमा राहतका सामग्री थुप्रिँदा त्यसको सिधा पश्चिममा किनेर खान नपाउँदा नजिकका पीडितकहाँ पनि सरकार पुग्न नसकेको प्रस्ट हुन्छ ।
शनिबारसम्मको अवस्था हेदा गल्छीदेखि देवीघाट हुँदै रसुवातर्फको वेत्रावती बजारसम्मको सडकको लेदो सफा गरेर देवीघाट, त्रिशूलीबजार वेत्रावतीको फ्लाखुँ खोलामा बेलिब्रिज राख्ने हो भने यो क्षेत्रमा खाद्यान्नजस्ता राहत सामग्री नै वितरण गर्नुपर्दैन । यो क्षेत्रका अधिकांश पीडित (प्रमाणित) व्यापारी हुन् । उनीहरु केही चिउरा, एक बक्स चाउचाउ र एकजोर लुगाको लागि लाइन बस्न नै रुचाउँदैनन् ।
‘लाइन बसेर चाउचाउ, चिउरा र चामल लिनुभन्दा देवीघामटको बजारमा डोजर चलाएर सफा गरिदिए पुरिएका सामानत नकुहिंदै निकालेर प्रयोग गर्न पाइन्थ्यो’, एक पीडितले आर्थिक दैनिकसित भने, ‘खाद्यान्न चाहिने बस्तीमा सरकारले लैजा“दैन, किनेर खानसक्ने पीडितकहा“ चाउचाउ, चिउरा र चामल बाँड्न हिँड्नु समस्या केहो भनेर पहिचान गर्न नसक्नु हो ।’
सरकारले पीडितको उद्धार कार्य शनिबारसम्म पनि जारी राखेको छ । यसको अर्थ सबै प्रभावित क्षेत्रमा सरकार पुग्नै नसकेको प्रस्ट हुन्छ । उद्धार सकिएपछि क्षतिको लगत संकलन कहिलेदेखि गर्ने अझै निश्चित छैन । व्यापारिक तथा जलविद्युत् आयोजनाको साथै नेपाल चीन नाका क्षेत्र भएको कारण कति मानिस बेपत्ता भए अनुमान नै गर्न सकिएको छैन ।
सरकारले उद्धारको काम नसकेको कारण नदी किनारमा सड्न थालेका शवहरु पनि उठाउन भ्याएको छैन । यसले गर्दा दुर्गन्ध बढ्नथालेको छ । सरकारले विदुरमा राहत सामग्री जम्मा गरेर राखेको छ तर रसुवातर्फ पनि पठाउन सकेको छैन । रसुवातर्फ जाने नुवाकोटको चोकदेवाट भए पनि त्यो बाटो प्रयोग गर्न समेत कडाइ गरिएको कारण रसुवाको माथिल्लो भेगका नागरिकसमेत समस्यामा पर्न थालेका छन् ।
नुवाकोटको ढुंगे क्षेत्रबाट सडक सफा गरेर सबैभन्दा पहिला खानेपानी पाइपको व्यवस्थापन गर्नुपर्नेमा त्यो काम पनि सरकारले सुरु गरेको छैन । पानीको अहिले विदुरमा हाहाकार भएको छ ।
१५ देशका १८७ पर्यटकको उद्धार
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये १८७ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये १८७ जनाको उद्धार गरिएको हो । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइ“कुण्ड र कैलाश मानसरोवर गएर हराएकमध्ये १५ देशका १८७ पर्यटकको उद्धार गरिएको जानकारी दिए ।
उद्धार गरिएका पर्यटकमध्ये भारतका ११४, चीनका २७, दक्षिण कोरियाका २०, जर्मनीका चार, बेल्जिएमका एक, बुल्गेरियाको एक, इटाली तीन, माल्टा चार, ओमन एक, पोर्चुगल एक, रसिया दुई, स्पेन दुई, स्वीजरल्याण्ड दुई, टर्की दुई र अमेरिकाका तीन रहेका छन् । बाढीमा परेर अझै ४२० पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नं १२३४, हटलाइन नं ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।
६६९ जनाको शव फेला, दुई हजार ३०१ जनाको उद्धार
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन् । विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन् ।
रसुवा बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् । बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।