विराटनगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजालले निजी क्षेत्रको समस्या समाधानको लागि सहयोग गर्न सत्तारुढ दललाई आग्रह गरेका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटी उनले निजी क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् । हाल आर्थिक मन्दी, बढ्दो उत्पादन लागत र नीतिगत जटिलताका कारण निजी क्षेत्र संकटमा परेको उनको भनाइ छ ।
रिजालले निजी क्षेत्रको वर्तमान अवस्था र उद्योग–व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यवहारिक समस्याबारे विस्तृत छलफल गर्दै ध्यानाकर्षणपत्रसमेत बुझाएको बताए । उनले उद्योगी–व्यवसायीको उधारो कारोबारलाई कानुनी संरक्षण दिन तत्काल ‘उधारो कानुन’ ल्याउनुपर्ने माग गरेको जानकारी दिए । भन्सार, राजस्व तथा नापतौललगायत सरकारी निकायबाट हुने सामान्य त्रुटिमा समेत अस्वाभाविक जरिवाना र प्रशासनिक दबाब दिने प्रवृत्ति रोक्नुपर्ने उनको माग थियो ।
त्यस्तै, बढ्दो ढुवानी लागत न्यूनीकरणका लागि सडकको क्षमता १०० टनसम्म विस्तार गर्नुपर्ने, प्लास्टिक उद्योगका मेसिनरी तथा स्वदेशी उत्पादनमा लाग्ने अन्तःशुल्क हटाउनुपर्ने र बैंकिङ कर्जा प्रक्रियालाई सहज बनाउँदै ब्याजदरमा स्थायित्व कायम गर्नुपर्ने उनको सुझाव छ । उद्योग क्षेत्रले भोग्दै आएको विद्युत् समस्या समाधान गर्दै ट्रिपिङ तथा लोडसेडिङ अन्त्य गरी गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने, दोहोरो कर प्रणालीलाई सरल बनाउनुपर्ने तथा आन्तरिक माग बढाउन विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
छलफलका क्रममा रास्वपा सभापति लामिछानेले बाढीबाट प्रभावित जिल्लामा उद्धार तथा राहतका कामलाई सरकारले तीव्रता दिएको बताएका थिए । निजी क्षेत्रका समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै उनले ‘उधारो कानुन’ ल्याउने विषयमा सरकार सकारात्मक रहेको र छिट्टै कानुनी व्यवस्था गरिने आवश्वासन दिएका थिए ।