काठमाडौँ, त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा रोकिएको कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा बाढीपहिरोका कारण यातायात सेवा प्रभावित भएको छ । पृथ्वी राजमार्ग हुँदै सञ्चालनमा रहेका सवारीसाधन नयाँबसपार्कमै रोकिएका काठमाडौँको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बताए ।
सडकमा जुनसुकै बेला पनि लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडक अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।