काठमाडौं, रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।
२०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको थियो। विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रदान गरेको हो । बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति नेपाल बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल बैंकका सञ्चालक समितिका सदस्य अमृत लम्सालले ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट बाढीपीडितका लागि आर्थिक सहयोग प्रदान गरिएकोमा अर्थमन्त्री वाग्लेले नेपाल बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे ।
चेक हस्तान्तरण कार्यक्रममा सञ्चालक समितिका सदस्य अमृत लम्सालले नेपाल बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महाभूकम्प, महामारीको रोकथाम तथा नियन्त्रणलगायत विभिन्न राष्ट्रिय विपद्का समयमा आर्थिक सहयोग गर्दै आएको बताए । सोही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गरिएको उनले जानकारी दिए । लम्सालले आगामी दिनमा पनि राष्ट्रिय विपद् तथा संकटका समयमा बैंकको तर्फबाट आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।