काठमाडौं, धितोपत्रसम्बन्धी ऐन र बीमा ऐनअन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर खाछें बस्ने हिमालय सेक्युरिटी बैंकरका संचालक अध्यक्ष ६३ वर्षीय दिपक कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–११ बस्ने हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक ४३ वर्षीय सुमेर शमशेर जबरा र दक्षिणकाली नगरपालिका–३ घर भएका हिमालयन रिइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ३९ वर्षीया उपसना पौडेल रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंबाट खटिएको प्रहरीले सुमेरलाई काठमाडौं महानगरपालिका–११ थापाथलीबाट बुधबार तथा दिपक कुमारलाई ललितपुर, ललितपुर महानगरपालिका–१५ हात्तीवनबाट र उपसनालाई काठमाडौं बबरमहलबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउमध्ये दिपक कुमार र सुमेर धितोपत्रसम्बन्धी ऐन र बीमा ऐनमा तथा उपसना बीमा ऐनसम्बन्धी कसुरमा संलग्न रही फरार रहेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।