काठमाडौं, दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो २०२६ आजदेखि हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा आज साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ उत्पादन तथा मोडल सार्वजनिक गरिने नाइमाले जनाएको छ । आयोजकका अनुसार ५१ स्टलमार्फत दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनसँगै विद्युतीय तथा हाइब्रिड मोबिलिटी, प्रविधि र मोबिलिटी समाधानसम्बन्धी उत्पादन प्रदर्शनीमा राखिनेछन् ।
चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधन क्षेत्रका ब्रान्डका लागि स्टल वितरण यसअघि नै भइसकेको नाइमाले जनाएको छ । एक्स्पोमा टाटा, किया, डेन्जा, आमोडा, एमजीलगायत चारपांग्रे ब्रान्ड तथा विभिन्न दुईपांग्रे र व्यावसायिक सवारीसाधन ब्रान्ड सहभागी हुनेछन् । एक्स्पोका योजना समिति संयोजक गौरव शारडाका अनुसार यस वर्षको प्रदर्शनीलाई आगन्तुकमैत्री बनाउन मनसुन र पहुँचसम्बन्धी विषयलाई समेत ध्यान दिइएको छ । अपांगता भएका व्यक्तिका लागि सहज हुने गरी प्रदर्शनीस्थल व्यवस्थापन गरिएको उनले बताए । आगन्तुकका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ भने एक्स्पो अवधिभर पठाओले छुटसहितको राइड सेवा उपलब्ध गराउनेछ । साथै, युनियन पे क्यूआरमार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा उपलब्ध हुने नाइमाले जनाएको छ ।
एक्स्पोअन्तर्गत नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अडिटोरियम हलमा निःशुल्क लर्निङ सेसनसमेत सञ्चालन गरिनेछ । मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यलगायत विषयमा विज्ञ, शिक्षाविद् तथा उद्योग क्षेत्रका प्रतिनिधिले प्रस्तुति दिनेछन् । नाइमाले एक्स्पोको टिकटबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम कार्यक्रमका लागि छुट्याउने जनाएको छ । एक्स्पोमा विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि तथा चार्जिङ सेवा प्रदायक, टिकटिङ, राइड, स्वास्थ्य, सुरक्षा, कनेक्टिभिटी र अन्य क्षेत्रका साझेदारसमेत सहभागी हुनेछन् ।