प्रस्तुत आलेखको शीर्षक ‘आदित्य कुमार, इर्फान अहमद, आरेन तामाङ’ मा आइपुग्नु अघि अलिकति नेपालमा दलीय राजनीतिको जेठो पार्टी नेपाली काँग्रेस सकिएको प्रमाणमा आउँछु । जहाँ कुरो बुझ्न र बुझाउन थप सहयोग हुन्छ ।
काँग्रेस संस्थापक बीपी कोइरालाका आखिरी दिन विसं. २०३८ सालको आखिरी महिनामा उहाँले दुइटा काम गरे काँग्रेस समाप्त हुने चेतावनी दिँदै गर्दा आफू उपस्थित रहेको पृष्ठभूमिबाट कुरो थालनी गर्छु । यद्यपि बीपी विसं. २०३३ सालमा भारत निर्वासन त्यागेर देशभित्र आउनु भए यतादेखि नै गणेशमान, कृष्णप्रसाद, सी.के., भीमबहादुर तामाङ, हामीहरू आदि इत्यादि काँग्रेस जनलाई सम्बोधन गर्दै पटक–पटक भन्ने गर्नुभएको थियो, ‘समयले खोजेको विचारधारा र मागलाई बुझेर काँग्रेस अगाडि बढेन भने एक दिन चीनको कोमिन्ताङ पार्टी जस्तै इतिहासको कुन कन्टेनरमा थन्किने छ, कसैलाई पत्तो हुने छैन ।’ बीपीको यो दूरदृष्टि आज आएर चरितार्थ भएको पुष्टी र प्रमाणित गर्न बीपी र सनयात सेनको तुलना र च्याङकाइ सेक र उसको अर्थमन्त्री समिर अमिनसँग गिरिजा र डा. रामशरण महतको तुलना गर्नुपर्ने लामो पाठ्यक्रम हुने भएकाले काँग्रेस समाप्त हुने बीपीको अर्को दूरदृष्टि यहाँ पाठ्यक्रममा ल्याउँछु ।
माथि भनिएको आफू प्रत्यक्ष साक्षी रहेको इतिहास चाहिँ बीपी आद्रना आखिरी दिनमा चाबहिल जयवागेश्वरी स्थित भाइ तारिणीप्रसाद कोइरालाको घरमा (बीपीको राजधानीमा आद्रनो घर थिएन) किमोथेरापी इन्जेक्सनको ७ फिट दुरीको घेराभित्र रहेर कार्यकर्ता, जिज्ञासु बौद्धिक जमात, पत्रकार प्रतिनिधिलाई सम्बोधन गरिरहनु भएका बखतको हो । घाँटीको क्यान्सरका कारण उहाँको आवाज अलिकति मसिनो थरथराएको जस्तो सुनिए पनि दूरदृष्टिमा भने त्यस बखत नेपालमा उहाँ नै एक नम्बरको हुनुहुन्थ्यो ।
राजा महेन्द्र बाँचिरहेका भए त्यसपछि उहाँ भन्नुपर्ने हुन्थ्यो । काँग्रेसमा एक जना हुनुहुन्छ, अस्ति भर्खरै भेटेर उमेर सोधेको ‘९० पुग्न एक वर्ष बाँकी’ भन्नुभयो । पूर्वी पहाडी जिल्ला उदयपुरका घाघडान काँग्रेस नेता अर्जुन कुमार खड्का । रामचन्द्र, शेरबहादुर भन्दा अग्रणी त्यागी, तपस्वी, सङ्घर्षशील १४ वर्षको उमेरदेखि एक क्षण र एक निमेष पनि यताउति नभइ हालसम्म पनि काँग्रेस नै । गिरिजाको राष्ट्रघात (टनकपुर/महाकाली) र देउवाको लुटतन्त्रमा विमति राख्दा किनारामा पारिएका (काँग्रेस महाभारतका बार्बरिक) बीपीले अर्जुनलाई भेटेपछि भन्नुभएको थियो, ‘पूर्वी पहाडको पार्टी नेतृत्वका लागि अब म ढुक्क भएँ ।’
त्यस बखतका गणेशमान, कृष्णप्रसाद पछि दोस्रो एक पुस्ताका नेताहरू शैलजा आचार्य, मार्शल जुलुम शाक्य, विपिन, शिवबहादुर, रामचन्द्र, देउवा आदि इत्यादिहरूको एउटा जमात बीपीबाट उहाँ पछिको काँग्रेस बारे अलिकति भविष्य दृष्टि जान्न चाहन्थे । तर बीपी समक्ष परेर त्यस्तो प्रश्न सोध्ने आँट कसैको पुगिरहेको थिएन । त्यस्तो आँट नपुग्नेमा म पनि थिएँ । यस्तैमा अर्जुनकुमार खड्काले आँट गरेर सोध्नुभयो, ‘भन्नुहोस् सान्दाज्यू (सान्दाज्यू भन्ने चलन देशव्यापी थियो) तपाईँको शेष पछि काँग्रेसको गति के होला ?’ अर्जुन खड्काको त्यस प्रश्नमा बीपीले जुन उत्तर दिनुभएको थियो, त्यस बखत आफू साक्षी रहेका कारण आज ४५ वर्षको अन्तरालमा अक्षरसः चरितार्थ भएको दशी, साक्षी, प्रमाणसहित किटेर भन्न सक्छु ।
त्यस बखत बीपीले काँग्रेसको भविष्य बारे दुइटा दूरदृष्टि प्रकट गर्नुभएको थियो । एउटा भन्नु भएको थियो, ‘यदि काँग्रेसले आद्रनो राष्ट्रियताको अडान छोड्यो भने यसको औचित्य रहने छैन’ दोस्रो उहाँले भन्नुभएको थियो, ‘यदि काँग्रेसले प्रजातन्त्रका आदर्श, मूल्य मान्यता त्याग्यो भने यो पार्टी समाप्त भएर जाने छ ।’
आज आइपुगेर बीपीको यो दुइटै दूरदृष्टि अक्षरसः चरितार्थ भएको यसरी पुष्टी र प्रमाणित हुन्छ । जुन दिन राजा वीरेन्द्रले ‘महाकाली सन्धि राष्ट्रघाती छ, त्यसमा हस्ताक्षर नगर’ भन्दाभन्दै काँग्रेसबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवाले दिल्ली पुगेर हस्ताक्षर गरे त्यस दिन (विसं. २०५३) काँग्रेसको राष्ट्रियताको अडान धराशायी भयो । नभन्दै त्यसपछि निर्दलका प्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुन थालेका लगायत माओवादी थोपरिएर काँग्रेसको औचित्य मूल्यहीन हुँदै गयो ।
जुन दिन काँग्रेसले चुनावका बखत जनतासँग भोट माग्न जाँदा पार्टीको चुनाव चिन्ह ‘रुख’ मा मत माग्नुको साटो १० वर्ष हिंसात्मक रगतपच्छे दुर्भाग्य १७ हजार बढी नेपाल आमाका सपुतको हत्यापछि लादिएको माओवादीको चुनाव चिन्ह ‘हसियाँ हथौडा’ मा भोट माग्यो त्यस दिन काँग्रेस प्रजातन्त्रका आदर्श, मूल्य मान्यताबाट च्यूत भयो । बीपीले भन्नुभएको जस्तो काँग्रेस पनि समाप्त भयो ।
०७ साल यताको नेपालको राष्ट्रिय राजनीतिमा काँग्रेस समाप्त हुनु भनेको राजा महेन्द्रले भनेको जस्तो प्रजातन्त्र अफाप प्रमाणित हुनु हो । ०७ साल फागुन ७ गते ‘प्रजातन्त्र दिवस’ का नाममा लादिएको ‘भारततन्त्र दिवस’ (१९ वर्षसम्म नेपालको छातिमा भारतीय सैनिक पोस्ट गाडिएको) को मनपरितन्त्र लुटतन्त्रको विगत ७ दशकको जनघात राष्ट्रघात अध्यायमा एउटा पूर्णविराम लाग्नु हो । देश, जनता, प्रणालीको हकमा एउटा नवजागरण अध्याय प्रारम्भ हुनु हो ।
यस नवजागरण अध्याय प्रारम्भको भविष्य उज्ज्वल, सुख शान्ति सम्पन्नता दायक हुने संकेतका रूपमा माथि उल्लिखित तीन नाम ‘आदित्य, इर्फान, आरेन तामाङ’ लाई पाठ्यक्रममा ल्याएको हुँ । र यो संकेत नेपाल भारतलगायत जहाँ–जहाँ चालू संसदीय प्रणालीको स्वतन्त्रता, मानव अधिकार, लेख्ने बोल्ने हकका नामको मनपरितन्त्र लुटतन्त्र फस्टाइ रहेको छ, ती सबै देशहरूलाई पनि हो ।
आदित्य कुमार
यिनी विहार भारतका एक कक्षामा पढ्दै गरेका ६ वर्ष उमेरका जेन अल्फा प्रतिनिधि पात्र हुन् । हालसालैको दिल्ली जन्तरमन्तरको विशाल जेनजी छात्र आन्दोलनको समर्थमा विहारको राजधानी पटनामा उग्र प्रदर्शन हुँदा मैदानमा उत्रेका पुलिसले लछारपछार गरेर हिरासतमा पुर्यायो । यिनको आमा ६ वर्षको बालकलाई गिरफ्तार गरेको भन्दै छुटाउन पुलिस अफिस पुग्दा हातको चुरा फुट्ने गरी दुर्व्यवहार भयो । आदित्यका लागि आफ्नो आमामाथि भएको यो अमानवीय व्यवहार सह्य भएन र उग्र आक्रोशित र विद्रोही भए ।
भारतीय ‘संविधान’ देखि महाभारत कथा ‘गीता’ सम्मको हवाला दिँदै पत्रकार सम्मेलन गरेर वरिष्ठ वकिलहरूको जुलुस लिएर न्यायको माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगे । उनको उजुरी विहारका मुख्यमन्त्रीदेखि प्रहरी प्रशासनका उच्च तहका हाकिमहरूको विरोधमा थियो । जुन भारतीय सत्ताको वर्तमान चरित्र (नेपालको जस्तै गुण्डाराज) अनुसार कारबाही हुने सम्भावना थिएन । त्यसपछि उनी प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिएसम्म भनेर अनसनमा बसे । विहारको बाहुबली नेता पप्पु यादवले फकाएर फुस्लाएर अनसन तोडे पनि यी पंक्ति लेखिरहेका बखत सम्म धर्ना भने उनको जारी छ । संसारभरिका छापा इलेक्ट्रोनिक मिडियाले सबैभन्दा सानो उमेरका जेन अल्फा पुस्ताका प्रतिनिधीले नवजागरणको ठूलो आन्दोलन उठाएका भनेर कभरेज दिएका छन् । भाइरल ब्वायका रूपमा गिनिज बुकमा नाम दर्ता भइसकेको छ । गीता र संविधानलाई आफ्नो एक कक्षाको पाठ्यक्रममा सामेल गरेका छन् र पढाइ र लडाइँ साथसाथ चलाउने उनको कथन हुने गरेको छ ।
इर्फान अहमद
यिनी झुपडबस्तीका एक निरक्षर ३८ वर्षीय मजदुर हुन् । भाइबहिनीको भीडले आर्थिक अभावका कारण घरजम गर्न पाएका छैनन् । जन्तरमन्तरको जेनजी विद्यार्थी विद्रोहमा ‘मजदुर आवाज’ उठेन भन्दै त्यहाँ पुगेका एउटा पत्रकारको प्रश्नमा उत्तर दिन थालेका आम पत्रकार जगत मात्र होइन, दुनीयाँका सारा बौद्धिक समाज प्राडा. जगत आश्चर्यचकित छन् । नेहरूकालका डा. राममनोहर लोहिया र सोनियाकालका राजीव दीक्षित शैलीमा चालू भारतीय संविधानलाई यस कालखण्डका सत्ताधारी वर्गले क्षतविक्षत पारेर धुलिसात तुल्याएका रामायण महाभारत कालदेखिका उदाहरणहरू दिएर एकएक साक्षी दसी पुष्टी र प्रमाणित गर्दै छर्लङ्ग पारी दिए कि उनको निरक्षरताको हिसाबले असम्भव थियो । ‘यत्रो ज्ञानको भण्डारण तपाईँमा कसरी सम्भव भयो ? भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘इन्टरनेट गुगल मेरो विश्वविद्यालय हो ।’ इर्फानको यो उदयबाट अब कुनै पनि देशलाई अराजकता, लुटतन्त्र मच्चाएर बर्बाद तुल्याउनु छ भने सबैभन्दा पहिले त्यो देशको शिक्षा नीति भाँडी देऊ (जस्तो २०२८ सालमा नयाँ शिक्षा नीति लादेर हाम्रो देशको शिक्षा नीति भाँडियो) भन्ने पहिले ‘इस्ट इन्डिया कम्पनी’ र अहिले ‘बहुराष्ट्रिय कम्पनी’ को घोषित नीति अब काम लाग्दैन भन्ने उदाहरण भएको छ । यति खेर इर्फान पनि आदित्य जस्तै संसारभरि नवजागरण उठाउन भाइरल भएका छन् ।
आरेन तामाङ
उनी गणतन्त्र यताको नेपालको राज्यसत्तामा ११ हजार गुण्डाहरूले पूर्ण रूपमा क्याप्चर (डन चाहिँ देउवा, ओली, प्रचण्ड आदि इत्यादि) गरेर मुलुकको अर्थतन्त्र ८३% बिहान बेलुका गुजारा आयातमा निर्भर ३० खर्ब वैदेशिक ऋणको ब्याज तिर्न पनि वैदेशिक ऋणमै भर कम्प्लिटली ब्ल्याक लिस्टमा पुर्याएका बखत आवाज उठाउँदा चोरी डाँका मुद्दामा चार वर्ष जेल झेलेर तपस्या साधना शैलीमा अध्ययन बढाएर गुण्डाराजका सबै नालीबेली दलीय कुण्डली पर्गेल्न विशारत हासिल योग्यताले सुसज्जित यति खेर गुण्डाराजको भण्डाफोर गर्दै सामाजिक सञ्जालमा नवजागरण उठाउन भाइरल भइरहेका छन् । आदित्य र इर्फान जस्तै । उनको ‘युट्युब वार्ता’ बालेनको ‘फेसबुक स्टेटस’ भन्दा प्रभावशाली भएर नेपाली जनजनका मनमा आशाको उज्यालो पुर्याइरहेका छन् । आरेन नेपालकै भएकाले उनको बारेमा थप चिनारी यथासमय यथास्थान ल्याउँदै गरौँला ।
अन्त्यमा, माथि उल्लिखित तीन नाम चिनारी पाठ्यक्रममा ल्याउनुको मेरो मुख्य उद्देश्य एउटै हो कि अब मुलुक (मुलुकहरू) मा समयले खोजेको विचारधारा र माग अनुसारको नवजागरण विजारोपण टुसाउन प्रारम्भ भइसकेको छ । देश बेचेका, जनता लुटेका मुलुकको अर्थतन्त्रलाई ब्ल्याकलिस्टमा पुर्याएका (अन्तर्राष्ट्रिय जगतले नेपाललाई माया गरेर ‘ग्रेलिस्ट’ मात्र भनिएको) हिजोका दलहरू र तिनका नेतृत्वका गुण्डागर्दी लुटधन्दा अब चल्न सक्दैन । अस्तु ।