काठमाडौं, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायत आसपासका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संस्थाले विपद्को यस कठिन घडीमा पीडित तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको हो ।
बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउने नागरिकहरूप्रति संस्थाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थालगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारजनले भोग्नुपरेको पीडाप्रति समेत संस्थाले गहिरो सहानुभूति प्रकट गरेको छ ।
संकटको यस घडीमा प्रभावित नागरिकको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरूले अघि बढाएका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आरएसडीसी लघुवित्तले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ । संस्थाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको स्पष्ट पारेको छ ।