काठमाडौं, नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी रकम संकलन तथा ठगी भइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विपद्को यस घडीमा उद्धार कोषमा योगदान गर्नुअघि रकम पठाउने माध्यम र खाताको विवरण राम्रोसँग यकिन गर्न आग्रह गरेको हो ।
कोषको नाममा अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेका घटना सार्वजनिक भएकाले सर्वसाधारणलाई सचेत गराउन सूचना जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा खाताको नाम अनिवार्य रूपमो यकिन गर्नुपर्नेछ । रकम पठाउनुअघि आफूले योगदान गर्न चाहेको रकम सही रूपमा प्रविष्टि भएको छ वा छैन भन्ने पनि पुनः जाँच गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । त्यस्तै, उद्धार कोषमा रकम पठाउनका लागि बैंक खाता विवरण लिँदा राष्ट्र बैंकको वेबसाइट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित आधिकारिक बैंक खाता विवरण मात्र प्रयोग गर्न भनिएको छ ।
सामाजिक सञ्जाल, इमेल तथा म्यासेजिङ एपलगायतका माध्यमबाट फैलाइएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ । ठगी गर्नेहरूले विपद्को संवेदनशील अवस्थालाई अवसरका रूपमा प्रयोग गरी नक्कली क्यूआर वा बैंक खाता सार्वजनिक गर्न सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त विवरणमा मात्र विश्वास गर्न राष्ट्र बैंकको आग्रह छ । रकम पठाउने क्रममा सहयोग गर्ने बहानामा कसैले ओटीपी, पिन, पासवर्ड वा अन्य संवेदनशील व्यक्तिगत विवरण मागेमा त्यस्ता विवरण कुनै पनि व्यक्तिलाई नदिन राष्ट्र बैंकले स्पष्ट पारेको छ । रकम पठाउनका लागि आधिकारिक एप्लिकेसन तथा भुक्तानी प्रणालीको प्रयोग गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।
मोबाइल बैंकिङबाटै कोषमा राहत रकम जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री राहत कोषमा मोबाइल बैंकिङ प्रणालीमार्फत सहज रूपमा रकम जम्मा गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरूको नाममा परिपत्र जारी गर्दै मोबाइल बैंकिङ एपमार्फत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न थप सहज विकल्पको व्यवस्था गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलिएका प्रधानमन्त्री राहत कोषका खातामा मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरेर वा अन्तरबैंक फण्ड ट्रान्सफरमार्फत रकम पठाउने व्यवस्था यसअघि नै रहेको छ । अब त्यसका अतिरिक्त मोबाइल बैंकिङ एपबाटै सोझै रकम प्रविष्ट गरी तोकिएको प्रधानमन्त्री राहत कोषको खातामा रकम रकमान्तर गर्न सकिने छुट्टै विकल्प समेत उपलब्ध गराउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।