विदुर । संघ सरकारले एकद्वार नीतिमार्फत स्थानीय तह र प्रदेशसँग समन्वय नगरी राहत वितरण गर्दा रसुवाको उत्तरी क्षेत्रको साथै नुवाकोटकै पनि वास्तविक बाढी प्रभावित क्षेत्रमा राहत पुगेको छैन ।
रेडक्रस र नेपाली सेनाको ब्यारेकमा खाद्यान्न, लगाउने लुगा र ओड्ने तथा ओछ्याउने कपडा थुप्रिँदा नुवाकोटको देवीघाटबाहेक अन्य बाढी प्रभावित क्षेत्रमा पीडितहरूले राहत नै पाउन सकेका छैनन् । देवीघाट र ढुंगेको सिधै काठमाडौंसँग सम्पर्क रहेको कारण राहतमा खासै समस्या छैन ।
सरकारको कडाइको कारण राहत ल्याउनेहरू विदुर र बट्टारबाहेक अन्य क्षेत्रमा जान पाएका छैनन् । प्रमुख जिल्ला अधिकारीको आदेश मानेर दाताहरूले पनि बट्टार र विदुरमा राहत सामग्री बुझाएर फर्कँदा कतै दशैँतिहारजस्तो त कतै चरम खाद्य अभाव भएको छ । बेत्रावतीकै पीडितहरूले खान लगाउन नपाएको गुनासो गरिरहेका छन् भने त्रिशूली नदी पश्चिमको नुवाकोट र रसुवाकै अन्य गाउँमा समेत हाहाकार मच्चिएको छ । तर, सरकार भने हराएकाहरूको खोजी नसकिएसम्म अन्य काममा प्राथमिकता दिन नसकिने भन्दै गैरजिम्मेवार बन्न थालेको छ ।
सरकारले दिनहुँ दर्जनौ पटक हेलिकोप्टर उडाइए पनि बाढीबाट अति प्रभावित रसुवाका स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी क्षेत्रमा अझै पनि पर्याप्त राहत सामग्री पठाउन सकेको छैन । बाढीले यातायात अवरोध भएको कारण स्याफ्रुबेँसीको र टिमुरेको माथिल्लो भेगमा पनि खाद्यान्न अभाव सुरु हुन लागेको छ ।
रसुवाको पूर्ण रूपमा ध्वत भएको र धेरै मानिस बेपत्ता भएको क्षेत्र पनि स्याफ्रुबेँसी, टिमुरे र रसुवागढी क्षेत्र हो । यहाँ कुनै पनि पसल छैन । किनेर खानका लागि सदरमुकाम धुन्चेबाट सामान पनि जान सकेको छैन । भरपर्दो सडक यातायात नभएको कारण धुन्चेमा समेत खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु नुवाकोटबाट प्रवेश गर्न सकेको छैन । प्रदेश सरकारले नुवाकोटबाट चोकदे हुँदै नौकुण्ड गाउँपालिकाबाट सडक सञ्चालन गरे पनि कच्ची भएको कारण भारी बोकेका सवारी साधन पर्याप्त मात्रामा जानै पाएका छैनन् ।
धुन्चेसम्म साना गाडीमा नुवाकोटबाट दैनिक उपभोग्य वस्तु लैजान सकिने अवस्था भए पनि स्याफ्रुबेँसीको पुल बगेको कारण भोटेकोशी
नदी पश्चिम ती सामान तार्न सकिने अवस्था छैन । सरकारले बेलिब्रिज नुवाकोट ल्याएर जड्ने काम नै सुरु गरेको छैन । सडकमा थुप्रिएको गेग्रान मात्र सफा गर्न थालेको छ ।