शुभचिन्तक मित्रराष्ट्रहरूले सहयोग गर्न तयार भएका तर सरकारले अनावश्यक शंका गरेर लिन नमानेका उपकरणका उद्धार कार्यमा व्यापक अभाव प्रकट हुन थालेका छन् । यो कुरा अरुले होइन स्वयं उद्धारमा खटिएका प्राविधिकहरूले नै बताएका हुन् । उनका अनुसार यदि आवश्यक उपकरण पर्याप्त थिए भने धेरैलाई बचाउन सकिने थियो । तिनका अभावले उल्टो धेरैको ज्यान गइरहेको छ ।
यस्ता उपकरणको अभाव छ भन्ने त गृहमन्त्रीले पुरिएका सुरुङ उधिन्ने काममा त्यसको उद्घाट गर्दै आम नागरिकलाई सरकार तत्पर छ भनेर देखाउन आफैँले देखाएका फोटोेले नै बताएको थियो । उनले खोतल्न खोजेका पुरिएका सुरुङका प्वाल त्यसको चार दिनपछि मात्र केही ठाउँमा सम्भव भयो । यस्तो कार्य प्रारम्भ गर्दा हजार जनाजति सुरुङभित्र फसेका आँकलन थियो । त्यसमध्ये धेरैको स्थिति अझै अन्योलमा नै छ । पीडितहरू यसलाई सरकारको नाटक भनेर जहाँतहीँ आक्रोस व्यक्त गर्ने क्रम अहिले अर्थात् एक हप्तासम्म कायमै छ । जब प्राविधिकहरूले नै उपकरणको व्यापक अभाव औंल्याउन थाले अनि चाहिँ दाताहरू दिन खोजिएका वस्तु नलिएको विषय मानिसका जीवनसंग जोडिन आएको मानिन थालियो ।
आफैंमाथि आइपर्ने विपद्को ठूलो जोखिम मोलेर उद्धारमा खटिएका प्राविधिकहरूले खोजेका त्यस्ता उपकरण राज्यले दिनै नसक्ने खालका भने थिएनन् । त्यही पारितिर अर्थात् चिनियाँ क्षेत्रमा एकैपटक सयौं संख्याका यस्ता उपकरण ल्याएर उद्धार मात्र होइन यही बाढीले बगाएका अर्थात् नेपालकै जस्तो क्षति गरेका सडक मर्मत पनि भइसक्न लागेका छन् । समाचारहरूले नै यो कुरा बताएका हुन् । यता नेपालपक्षमा भने तीन–चारवटा एक्स्काभेटर र एउटा ब्रेकरसमेत नपाउँदा त्रिशूली–बेसका जलविद्युत् निर्माणका सुरूङमा फसेकाहरूको उद्धार अहिलेसम्म हुन सकेको छैन । त्यही बेसमा उद्धामा लागेका एनईए इन्जिनियरिङ कम्पनीका सर्भेयर प्रणय मगरले आफ्नो सञ्जालमा नै तीन–चारवटा एक्स्काभेटर र एउटा ब्रेकर भइदिएको भए माथिल्लो त्रिशूली–३ ए को सुरूङमा फसेकाहरूको उद्धारले अहिलेसम्म सफलता पाइसक्ने थियो भनेर लेखेका छन् ।
बाढीले क्षति पुर्याएको सातौं दिनको कुरा हो । भित्र हजार जना विज्ञहरू छन् । उनले सञ्जालमा लेखेका छन्– हेलो माननीयज्यूहरू मेरो एउटा बिन्ती छ । हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भने अनुसार काम गर्नुस् । यदि प्राविधिकले भने अनुसार काम गर्न सक्नुहुन्न भने प्राविधिक नै नबोलाउनुस् । आफ्नो तरिकाले काम गर्नुस् । जुन अहिले यो तस्बिर देखिरहनुभएको छ, यो त्रिशूली–३ ‘ए’ को तस्बिर हो जहाँ हामीजस्तै प्राविधिकहरू टनेलभित्र थुनिरहनुभएको छ । आजसम्म हामी उद्धार कार्यमा लागेको ६ दिन बितिसक्यो ।
अहिलेसम्म कुनै पनि टनेलभित्र जान एक्सिससम्म बनाउन सकिएको छैन । मलाई लाग्छ यो कामका लागि कुनै पनि विशाल प्रविधि हामीलाई चाहिँदैन थियो । यहाँ यदि हामीलाई पहिलो दिनबाटै तीन–चारवटा एक्स्काभेटर र एउटा ब्रेकर भइदिएको भए हामी अहिलेसम्म उद्धार गर्न सफल भइसकेका हुन्थ्यौं । कृपया योभन्दा ढिला नगरिदिनुस् । जे जे आवश्यक छ ती सामानहरू प्लिज–प्लिज–प्लिज साइडमा उपलब्ध गराइदिनुस ् र यो उद्धार कार्यलाई सहजीकरण गरिदिनुस् । जति सक्दो उदार कार्य सम्पन्न गरेर घरमा कुरिरहनुभएका आफन्तलाई ढुक्क बनाइदिनुहोस् सरकार ।
यी प्राविधिकको यो गुहार वास्तवमा नै यो विपद्मा सरकारको व्यवस्थापन कस्तो रहृयो भन्ने एउटा ऐना नै हुनुपर्छ । उद्धारमा भिडिरहेका प्राविधिकका यो भनाइले प्रधानमन्त्रीले दिनैपिच्छे सामाजिक सञ्जालमा दिने गरेका विवरणलाई पनि पूर्णरूपले खारेज गर्छन् । हामीलाई पहिलो दिनबाटै तीन–चारवटा एक्स्काभेटर र एउटा ब्रेकर भइदिएको भए हामी अहिलेसम्म उद्धार गर्न सफल भइसकेका हुन्थ्यौं भन्ने कुरा सामान्य होइन । यसको व्यवस्थापन गर्ने जिम्मा र दायित्व सरकारकै हो । प्राविधिकको यो भनाइले गृहमन्त्रीको प्रचारवाजीयुक्त कामलाई पनि जिस्क्याएको हुनुपर्छ । सुरूङमा फसेकाहरूको उद्धारमा खटिएका व्यक्तिको यस्तो माग पनि सरकारले पूरा गरेको छैन भने कम्तीमा यो विपद्मा सरकार आफैं कहाँ छ भनेर प्रश्न गर्नुपर्ने हुन्छ नै ।