काठमाडौं, नेपाल प्रहरीले रसुवा बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रति व्यक्ति १० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकमा उक्त निर्णय गरेको हो । साथै, बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४० करोड रूपैयाँसमेत प्रदान गर्ने निर्णय गरेको छ । साथै बाढीमा परी हालसम्म फेला पर्न नसेकका प्रहरी कर्मचारीहरूको खोजीको लागि परिवारका सदस्यहरूको सम्पर्क एवं समन्वयमा विशेषज्ञसहितको टोली परिचालन गरी खोजतलासलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ ।
यसैगरी दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने निर्णय पनि प्रहरीले गरेको छ । उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सीपमूलक तालिम प्रदान गर्ने र रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रका प्रहरी एकाइहरू इलाका प्रहरी कार्यलय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्रीहरू क्षतिको राहत स्वरूप जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत, सम्पर्कविहीन एवं घाइते प्रहरी कर्मचारीहरू र निजका आफन्त एवं परिवारजनहरूलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिको लागि सहजीकरण गर्ने समेत बैठकमा निर्णय गरेको हो ।