काठमाडौं, नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले १६औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
समाजले जिनोब इन्क प्रालिले विकास गरेको फिनएक्स सीबीएस ‘सम्पूर्ण सहकारी सफ्टवेयर इकोसिस्टम’ को मुख्य प्रायोजनमा मंगलबार फुटसल प्रतियोगिता सम्पन्न गरेको हो । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सहकारीकर्मी र सञ्चारकर्मीहरूबीच एक दिवसीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको संस्थाका कोषध्यक्ष प्रवीन राउतले बताए । प्रतियोगितामा सहकारीकर्मी र सीजेएनका सदस्यहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो ।
राउतका अनुसार फुटसल प्रतियोगितामा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, विषयगत संघ तथा प्रारम्भिक संस्थाका प्रतिनिधित्व रहेको थियो भने सीजेएन कार्यसमिति, सदस्यहरू एवं विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता थियो । प्रतियोगितामा प्रत्येक टिममा ५ जना सहभागी रहने गरी ५ टिमबीच प्रतिस्पर्धा गराइएको थियो । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, हकहित संरक्षण र वृत्ति विकास गर्ने मुख्य उद्देश्यका साथ २०६८ सालमा स्थापना भएको समाजले यही भदौ १९ गते १६औं स्थापना दिवस मनाउँदैछ ।