काठमाडौं, जीवन बीमा कम्पनीहरूमा कुल सक्रिय जीवन बीमालेखको संख्या एक करोड १८ लाख नाघेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्मको विवरणअनुसार सक्रिय जीवन बीमालेखको संख्या एक करोड १८ लाख ५० हजार तीन सय ९१ वटा पुगेको हो ।
सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन रकम भने यस अवधिमा दुई खर्ब एक करोड ९१ लाख आठ हजार रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १२ दशमलव ४३ प्रतिशतले बढी हो । उक्त अवधिमा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार आव २०८२/०८३ को असार मसान्तसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले कुल नौ अर्ब ६४ करोड पाँच लाख पाँच हजार रुपैयाँ कुल जीवन बीमाशुल्क आर्जन गर्दा निजी क्षेत्रद्वारा सञ्चालित नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले २४ अर्ब ६८ करोड ५७ लाख ४९ हजार रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र मेट लाइफले इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा क्रमशः ५३ अर्ब ६८ करोड ८४ लाख ५९ हजार, २१ अर्ब २३ करोड ३९ लाख ३४ हजार र छ अर्ब ८६ करोड तीन लाख २७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
एसियन लाइफ, आईएमई लाइफ र सन् नेपाल लाइफले पनि यस अवधिमा क्रमशः १० अर्ब ४३ करोड ६५ लाख ४८ हजार, सात अर्ब ४५ करोड ४१ लाख सात हजार र चार अर्ब ६३ करोड १० लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
आव २०८२/०८३ को असार मसान्तसम्ममा रिलायवल नेपाल लाइफ, सिटिजन लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि क्रमशः छ अर्ब ४२ करोड आठ लाख ८० हजार, नौ अर्ब १६ करोड ८९ लाख ७२ हजार र १२ अर्ब ९० करोड ६७ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सानिमा रिलायन्स, हिमालयन र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा क्रमशः सात अर्ब ९९ करोड ४२ लाख ७६ हजार, १८ अर्ब ५६ करोड पाँच लाख ८७ हजार र छ अर्ब ३३ करोड ६९ लाख ८० हजार रुपैयाँ कुल जीवन बीमाशुल्क आर्जन गरेका छन् ।