काठमाडौं, एनएमबी म्युचुअल फन्डअन्तर्गत योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबी सरल बचत फन्ड–ई ले आर्थिक वर्ष २०८२/०८३ को लागि २०८३ आषाढ मसान्तमा कायम इकाई पुँजी चार अर्ब ८१ करोड १७ लाख ५५ हजार नौ सय ७८ रुपैयाँ ४० पैसाको पाँच दशमलव दुई पाँच प्रतिशत (करसहित) को दरले हुन आउने रकम २५ करोड ६८ लाख १७ हजार एक सय ८८ रुपैयाँ ८७ पैसा) बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ । कम्पनीका अनुसार यो प्रतिफलको लागि २०८३ श्रावण २१ गतेसम्म इकाइधनी दर्ता किताबमा कायम रहेका इकाइधनीहरू मात्र योग्य हुने छन् ।
प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ । साथै, लाभांश पुनर्लगानी रोज्ने इकाइधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाइ खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ । पुनर्लगानीमा सहभागी नहुने इकाइधनीहरूको प्रतिफल कर कट्टीपश्चात् सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ । एनएमबी क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।
कम्पनीले आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फन्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ । लगानीकर्तालाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न अनुरोध गर्दै कम्पनीले प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि आफ्नो कार्यालय वा आधिकारिक माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।