काठमाडौं, कर्णाली विकास बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित थप तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तत्कालीन सीईओ नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन् । उनीहरूलाई नेपालगन्जबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
कर्णाली विकास बैंकमा कर्जा हिनामिना तथा रकम अपचलन भएको आरोपपछि बैंक गम्भीर वित्तीय संकटमा परेको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो । हाल बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकले नै सम्हालिरहेको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने चितवन इच्छाकामना गाउँपालिका–५ घर भएका ४१ वर्षीय राममणी त्रिपाठीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८२ असार १० गतेको फैसला उक्त मुद्दामा ७३ हजार ३ सय ९० रूपैयाँ जरिवाना, पाँच दिन कैद र क्षतिपूर्ति बापत दुई हजार नौं सय ३६ रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त कार्यालयले जानकारी दिएको छ । यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने सर्लाही घर भएका ५० वर्षीय बिजय खड्कालाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय हरिवन सर्लाही पठाइएको छ ।