काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरूले ग्लोबल आईएमई बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिंकमा क्लिक गरी पाउनेछन् ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ । यसअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाइ नागरिक एपमा आबद्ध भएका नागरिकहरूले अनलाइनबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सक्नेछन् । यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ । यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनियता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनको लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ । यस सेवाको सुरुवातसँगै ग्लोबल आईएमई बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको छ । नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरूसमेत हात पारेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले तीन सय ४२ वटा शाखा कार्यालय, तीन सय ६८ वटा एटीएम, एक सय ४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।