काठमाडौं, सरकारले लगानीयोग्य (तरलता) रकमलाई लगानीमा परिणत गर्न नसक्दा नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापारमा उच्च घाटा व्यहोर्नुपरेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब आठ करोड ८५ लाख हुँदा नेपालले सबैभन्दा बढी भारत र चीनसँग व्यापार घाटा व्यहोर्नु परेको हो । सो वर्ष भारतबाट १२ खर्ब एक अर्ब छ करोडको आयात हुँदा दुई खर्ब ५८ अर्ब ६५ करोड एक लाखको निर्यात रहेको छ । मुलुकलाई कृषिप्रधान देश भनिए पनि भारत र चीनबाट कृषि उत्पादनका साथै पेट्रोलियम पदार्थ र मेसिनरी सामग्रीको आयात उच्च हुँदा नेपालले ती मुलुकहरूसँगको व्यापारमा ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ तुलनामा आर्थिक वर्ष २०८२/८३ मा मुलुकको व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल व्यापार घाटा १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख रहेको थियो । समीक्षा अवधिमा मुलुकको व्यापार घाटा उच्च हुने मुलुकको दोस्रो स्थानमा चीन रहेको छ भने त्यसपछि क्रमशः अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स (यूएई), इन्डोनेसिया, थाइल्याण्डलगायतका मुलुक रहेका छन् । समीक्षा अवधिमा चीनसँग चार खर्ब २३ अर्ब ३५ करोड, अर्जेन्टिनासँग एक खर्ब १६ अर्ब ३६ करोड, यूएईसँग ५० अर्ब ३२ करोड, इन्डोनेसियासँग २१ अर्ब ९२ करोड र थाइल्याण्डसँग १८ अर्ब ३२ करोड व्यापार घाटा रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा चीनबाट चार खर्ब २५ अर्ब २४ करोड, अर्जेन्टिनाबाट एक खर्ब १६ अर्ब ३८ करोड, संयुक्त अरब इमिरेटस (यूएइ)बाट ५२ अर्ब १६ करोड, इन्डोनेसियाबाट २२ अर्ब १८ करोड र थाइल्याण्डबाट १८ अर्ब ३६ करोडको आयात रहेको छ । सोही वर्ष चीनसँग एक अर्ब ८९ करोड २५ लाख, अर्जेन्टिनासँग एक करोड ८५ लाख, संयुक्त अरब इमिरेट्स (यूएई)सँग एक अर्ब ८४ करोड २६ लाख, इन्डोनेसियासँग २६ करोड सात लाख र थाइल्याण्डसँग चार करोड २० लाखको निर्यात रहेको छ ।
उच्च आयात र ज्यादै न्यून निर्यातका कारण यी मुलुकहरूसँगको व्यापारमा नेपालले उच्च घाटा व्यहोर्नुपरेको विभागका निर्देशक किशोर बर्तौलाले बताए । उनका अनुसार भारतबाट उच्च मात्रामा पेट्रोलियम पदार्थ, चीनबाट स्याउ, प्याज लसुन र मेसिनर सामग्री र अर्जेन्टिनाबाट पाम आयात उच्च रहेको कारण व्यापार घाटा उच्च व्यहोर्नुपरेको हो । नेपाले भारतमा भने भटमासको तेल, अलैँंची, सूर्यमुखी तेल, गलैँचा, पाम तेल, यार्न निर्यात गर्छ । यसैगरी नेपालले चीनमा फर्निचर, गलैँचा, फेल्ट, अर्जेन्टिनामा विद्युतीय सामग्री र संगीतका सामग्री निर्यात गर्छ ।
विभागका अनुसार समीक्षा अवधिमा नेपालले अष्ट्रेलियासँग १८ अर्ब २६ करोड, ब्राजिलसँग १७ अर्ब ७० करोड, मलेसियासँग १५ अर्ब २६ करोड, अमेरिकासँग ११ अर्ब ९४ करोड, हङकङसँग नौ अर्ब छ करोड, साउदी अरबियासँग नौ अर्ब दुई , युक्रेनसँग आठ अर्ब ९७ करोड र बंगलादेशसँग आठ अर्ब ६६ करोड व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा नेपालले भियतनामसँग आठ अर्ब १९ करोड, जापानसँग सात अर्ब तीन करोड, क्यानडासँग छ अर्ब ४७ करोड, दक्षिण कोरियासँग पाँच अर्ब ८६ करोड र फ्रान्ससँग पाँच अर्ब ८३ करोड व्यपार घाटा व्यहोरेको छ ।
गत आर्थिक वर्षमा नेपालले करिब ११ दर्जन मुलुकसँग व्यापार घाटा व्यहोरेको निर्देशक बर्तौलाले जानकारी दिए । समीक्षा अवधिमा एक सय ६१ वटाभन्दा बढी मुलुकसँगको द्विपक्षीय व्यापारमा एक सय २८ वटा मुलुकसँग व्यापारमा घाटा व्यहोर्दा ३३ वटा मुलुकसँगको व्यापारमा नाफा कमाएको उनको भनाइ छ ।
त्यस्तै विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले सबैभन्दा बढी व्यापारमा नाफा डेनमार्कसँग गर्दा त्यसपछि क्रमशः नर्वे, अमेरिकन सामो, रोमानिया, आइसल्याण्ड, सेचेल्सलगायतका मुलुकसँग नाफा रहेको छ । समीक्षा अवधिमा नेपालले डेनमार्कसँग ८० करोड ४५ लाख, नर्वेसँग आठ करोड ८० लाख, अमेरिकन सामोसँग चार करोड ४६ लाख, रोमानियासँग चार करोड २२ लाख, आइसल्याण्डसँग दुई करोड ६० लाख र सेचेल्सँग एक करोड ९० लाख नाफा कमाएको छ ।
समीक्षा अवधिमा नेपालले जाम्बियासँग चार लाख, सिरियासँग तीन लाख, पानामासँग तीन लाख, एगोलोसँग दुई लाख नाफा कमाउँदा सबैभन्दा कम किर्गिस्तानसँग एक लाख ४३ हजार नाफा कमाएको छ । नेपालले ती मुलुकहरूमा विशेष गरी चिया, अलैँची, गलैँचा, कुकुरबिरालोको आहारा अर्थात् छुर्पी निर्यात गरेको पाउछौँ ।
त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा आयात, निर्यातसँगै कुल वैदेशिक व्यापार समेत बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा २० खर्ब ९६ अर्ब ३७ करोड आयात र तीन खर्ब १५ अर्ब २९ करोडको निर्यात रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा आयात १६ दशमलव २० प्रतिशत र निर्यात १३ दशमलव ८१ प्रतिशतले बढी हो । सो आर्थिक वर्षमा १८ खर्ब चार अर्ब १२ करोडको आयात र दुई खर्ब ७७ अर्ब तीन करोडको निर्यात रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रहेको थियो । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १६ प्रतिशतले बढेको हो । कुल वैदेशिक वयापारमा निर्यात्को हिस्सा १३ प्रतिशत र आयातको हिस्सा ८६ दशमलव ९३ प्रतिशत रहेको छ ।
यसैबीच नेपालको वैदेशिक व्यापारलाई हेर्दा निर्यात प्रवर्द्धनका आधार पहिल्याउन आवश्यक देखिन्छ भने स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना गरी औद्योगिक विकास आवश्यक रहेको जानकारहरू बताउँछन् । सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य देश भएपछि पनि नेपालको निर्यात गर्ने वस्तु संरचनमा खासै परिवर्तन आउन नसक्दा व्यापार घाटा घट्न सकेको छैन ।
व्यापारघाटा न्यूनीकरण गर्न नेपाली वस्तुको बजार पहिचान गर्ने र उद्योगधन्दाको विकास गर्दै अघि बढ्नुपर्ने जानकारहरू बताउँछन् । उनीहरू नेपालमा उत्पादन तथा निर्यातको सम्भावना भएका वस्तु तथा सामग्रीको पहिचान गरी त्यसमार्फत व्यापारमा सुधार गर्न सकिने बताउँछन् । विद्युत् निर्यात गरेर व्यापार घाटामा सुधार ल्याउन सक्ने पूर्वगर्भनर महाप्रसाद अधिकारी बताउँछन् । उनका अनुसार वार्षिक १३ खर्बबरारबको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्तय हुनेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल लगानीको २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गरेमा व्यापार घाटाको समस्या समाधान हुने उनले बताउँदै आएका छन् ।
सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना मात्र नभई निर्यात वृद्धि र आयात व्यवस्थापनको लागि वाणिज्य नीति २०७२, आपूर्ति नीति २०६९, औद्योगिक नीति २०७६, निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ निर्माण गरिएको छ भने संविधानको धारा ५१ राष्ट्रिय हितअनुकूल आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धनका क्षेत्रमा वैदेशिक पुँजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्ने, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, राष्ट्रिय परियोजना, विदेशी लगानीका परियोजनाको सन्दर्भमा अन्तरप्रदेश तथा प्रदेश र संघबीच समन्वय स्थापित गराई आर्थिक विकासलाई गतिशीलता प्रदान गरी अघि बढ्नुपर्ने बताइएको छ ।