काठमाडौं, फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १५ अर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १७ फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १५ अर्ब ३१ करोड ६० लाख रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा चार करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १५ अर्ब २७ करोड १० लाख रुपैयाँ रहेको थियो । कुल चुक्ता पुँजीमध्ये नेपाल फाइनान्सको मात्र चुक्ता पुँजी ७५ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनी, गुडबिल फाइनान्स र प्र्रोग्रेसिभ फाइनान्स कम्पनीले भने क्रमशः २३ करोड ३३ लाख, ९४ करोड ६१ लाख र ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
त्यसैगरी जानकी, पोखरा र मल्टीपर्पस फाइनान्स कम्पनीले पनि क्रमशः ६९ करोड पाँच लाख, एक अर्ब आठ करोड २६ लाख र ६१ करोड दुई लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । समृद्धि फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः ८१ करोड ८९ लाख, ९३ करोड ५१ लाख र एक अर्ब एक करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
चालू आवको पछिल्लो अवधिमा आईसीएफसी, मञ्जुश्री र रिलायन्स फाइनान्स कम्पनीले पनि क्रमशः एक अर्ब १८ करोड ३५ लाख लाख, एक अर्ब ३५ करोड १६ लाख र एक अर्ब १२ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । गोर्खा र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले पनि पछिल्लो अवधिमा क्रमशः ८६ करोड ८० लाख र एक अर्ब आठ करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । सेन्ट्रल फाइनान्स र बेष्ट फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः ९४ करोड ८९ लाख र ८९ लाख लाख चार हजार रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् ।