काठमाडौं, नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्र बैंकका अनुसार डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र एकीकृत बनाउने उद्देश्यले डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था लागू गरिएको हो ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा १५औँ संशोधन गर्दै राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थाहरूको नाममा शुक्रबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । निर्देशनअनुसार अबदेखि नेपाली नागरिकका लागि नयाँ डिजिटल वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । यससँगै सञ्चालनमा रहेका सबै वालेट प्रयोगकर्ताको विवरण पनि अद्यावधिक गरिने भएको छ ।
राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र सबै विद्यमान वालेट प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वघोषणा मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट लिनुपर्ने व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र नबनाएका नेपाली नागरिकलाई भने परिचयपत्र लिएपछि विवरण अद्यावधिक गर्न प्रेरित गर्ने उद्देश्यले प्रत्येक महिनामा मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने दायित्व पनि भुक्तानी सेवा प्रदायकलाई दिइएको छ । संशोधित व्यवस्थाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकका लागि पनि सहजता प्रदान गरेको छ । उनीहरूले विदेशमै रहँदा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरबाहेक आवश्यक कागजातका आधारमा अनलाइनमार्फत डिजिटल वालेट खोल्न सक्नेछन् ।
तर नेपाल ३५ दिनभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ । यसैगरी आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा पनि राष्ट्रिय परिचयपत्र वा अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न तथा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछर्यौट ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै उक्त संशोधन लागू गरेको जनाएको छ ।