बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सरकारमा सहभागी कांग्रेसका पाँचै जना मन्त्रीले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका हुन् ।नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी थिए ।अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । मुख्यमन्त्री आचार्य नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन । यसअघि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेबीचको सहकार्यमा सरकार सञ्चालन हुँदै आएको थियो । तर, एमाले र नेकपाबीच सहकार्यको सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिँदै प्रतिपक्षमा पुग्ने भएको छ ।