काठमाडौं, नेपालमा एक वर्षमा १२ लाख नौ हजार तीन सय ५७ विदेशी पर्यटक आगमन भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा उक्त पर्यटक नेता भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै तीन लाख ११ हजार पाँच सय ३१ पर्यटक भारतबाट आएका छन्, उक्त संख्या कुल पर्यटकको २५.७६ प्रतिशत हो । यस्तै संयुक्त राज्य अमेरिकाबाट एक लाख ११ हजार तीन सय २५ र चीनबाट एक लाख नौ हजार आठ सय ९२ पर्यटक नेपाल आएका छन् ।
बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । भारतपछि अमेरिका दोस्रो तथा चीन तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन् । त्यसपछि बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अष्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् ।
गत आर्थिक वर्ष ०८२/०८३ मा सबैभन्दा बढी कात्तिकमा १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको बोर्डले जनाएको छ । बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रबर्द्धनात्मक कार्यक्रमहरूलाई पनि तीव्रता दिएको छ । आर्थिक वर्ष ०८२/०८३ मा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई, नयाँ दिल्लीलगायतका विभिन्न सहरहरूमा १२ वटाभन्दा बढी प्रबद्र्धनात्मक कार्यक्रमहरू गरिएको थियो । त्यसैगरी समग्रमा अन्तर्राष्ट्रिय बजारमा ४० वटाभन्दा बढी नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो ।
त्यसैगरी गत आवका अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न क्रस–बोर्डर तथा पर्यटन मार्ट र मेलाहरू गरिएको थियो । जसको प्रभावका कारण सीमा क्षेत्र हुँदै नेपाल भित्रिने पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको बोर्डको दाबी छ । बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताए ।
उनले भने, ‘आर्थिक वर्ष २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट संकेत गरेको छ । प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनायुक्त बजारमा पनि लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउँदै नेपाललाई वर्षभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास जारी रहनेछ ।’
चीनमा पर्यटक आगमनको सम्भावना अत्यन्त ठूलो रहे पनि त्यस बजारमा लक्षित प्रवर्द्धन र व्यवसाय–व्यवसाय (बीटुबि) सम्पर्क विस्तार गर्न सेल्स मिसनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनले बताए । ‘चीनसहित अमेरिका, अस्ट्रेलिया र बंगलादेशजस्ता नयाँ तथा उच्च सम्भावना भएका स्रोत बजारमा हाम्रो उपस्थिति अझ सशक्त बनाउन अन्तर्राष्ट्रिय स्तरमा नियमित सेल्स मिसन सञ्चालन गर्न आवश्यक छ’, उनले भने, ‘पर्यटन प्रवर्द्धनलाई परिणाममुखी बनाउन आर्थिक वर्ष ०८३–०८४ को बजेटमार्फत निजी क्षेत्रसँगको सहकार्यमा यस्ता कार्यक्रम तत्काल विस्तार गर्ने दिशामा नेपाल पर्यटन बोर्ड अघि बढिरहेको छ ।’ बोर्डले आगामी दिनमा उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, बसाइ अवधि बढाउने तथा परम्परागत बजारसँगै नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाइने जनाएको छ ।