काठमाडौं, बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा र आवास शीर्षकमा कर्जा रकम बढाएका छन् । वित्तीय स्थायित्वसम्बन्धी राष्ट्र बैंकको आर्थिक वर्ष २०२४/०२५ को वार्षिक प्रतिवेदनअनुसार पछिल्लो अवधिमा आवासीय घर कर्जा सात दशमलव ९१ प्रतिशतले बढेको हो ।
यस अवधिमा घरजग्गा कर्जा भने दुई दशमलव ९१ प्रतिशतले बढेको छ ।
प्रतिवेदनअनुसार मध्य–जुलाई २०२५ सम्म आवासीय व्यक्तिगत घर कर्जा चार खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा चार खर्ब ३७ अर्ब दुई करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा रकम पनि दुई खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा यस्तो कर्जा दुई अर्ब ६८ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । प्रतिवेदनअनुसार कुल कर्जा तथा सापटीमा आवासीय व्यक्तिगत घर कर्जाको हिस्सा सात दशमलव ४७ प्रतिशत रहेको छ भने घरजग्गा कर्जाको हिस्सा चार दशमलव ९४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षमा यस्तो अनुपातहरू क्रमशः सात दशमलव ४९ र पाँच दशमलव १९ प्रतिशत रहेको थियो ।
प्रतिवेदनअनुसार संस्थागत रूपमा हेर्दा वाणिज्य बैंकहरूले कुल कर्जाको छ दशमलव ३६ प्रतिशत, विकास बैंकहरूले ११ दशमलव २१ प्रतिशत र फाइनान्स कम्पनीहरूले चार दशमलव ६५ प्रतिशत घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । यसैगरी बैंक तथा फाइनान्स कम्पनीहरूले स्थिर सम्पत्ति धितोमा आधारित कर्जा पनि बढाएका छन् । सोअनुसार मध्य–जुलाई २०२५ सम्म स्थिर सम्पत्ति धितोमा कुल कर्जा प्रवाह रकम ४१ खर्ब ३२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन कुल कर्जाको ७३ दशमलव ९० प्रतिशत बराबर हो । धितोका आधारमा प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकहरूको हिस्सा ७२ दशमलव २७ प्रतिशत, विकास बैंकहरूको ८७ दशमलव एक प्रतिशत र फाइनान्स कम्पनीहरूको ८५ दशमलव २२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।