काठमाडौं, भोटेकोशी नदीमा गएको बाढीबाट नौवटा जलविद्युत् आयोजनाका पाँच सय ३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौवटा जलविद्युत् आयोजनामा कार्यरत आठ सय ९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये तीन सय ६१ जनाको उद्धार
भइसकेको छ ।
यसअघि इपानले बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाका आठ सय ९८ जना अधिकारीहरू सम्पर्कविहीन भएको बताएको थियो । बाढीले आयोजना क्षेत्र, सुरुङ, पहुँचमार्ग र निर्माण शिविरमा ठूलो क्षति पु¥याएपछि सयौँ कर्मचारी र मजदुरसँग सम्पर्क टुटेको हो । दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट पाँच सय ७६ जना सम्पर्कविहीन भएकामध्ये दुई सय ५४ जनाको उद्धार भइसकेको छ । सोही आयोजनाको सुरुङमा अझै पनि तीन सय जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ । अहिले सो सुरुङमार्गमा खोजी भइरहेको छ ।
त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट पनि ९३ जना सम्पर्कविहीन भइरहेका छन् । रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ । लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १८ जनाको उद्धार भएको छ । त्यसैगरी, चिलिमे हाइड्रोपावरबाट आठ जना सम्पर्कविहीन भइरहेका छन् । मैलुङ खोला हाइड्रोपावरबाट सात जना सम्पर्कविहीन भएका छन् । त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भएका छन् । देवीघाट जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भइरहेका छन् । माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन् ।
माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट एक सय २२ जना सम्पर्कविहीन भएका मध्ये ९१ जनाको जीवितै उद्धार गरिएको छ । मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ । सोही क्रममा शनिबार बिहानै देखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ ।
टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो । सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको सचिवालयले जनाएको छ । सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको समेत सचिवालयले जनाएको छ ।
चिनियाँ र भारतीय टोली परिचालन
यसैबीच, बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ’बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ ।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ । सरकारको अनुमतिपश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो ।
चिनियाँ हेलिकोप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्नेछ ।
संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्नेछ । प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ ।
सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए पनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयमा शनिबार आयोजित प्रेस ब्रिफिङमा उद्धार कार्य जारी रहेकाले सुरुङभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकाल्ने, प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको स्थान पत्ता लगाउन सहयोग गर्ने प्रविधि सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको बताएका थिए ।
त्यस्तै, शीघ्र फरेन्सिक तथा डिएनए परीक्षण र शव राख्नका लागि शवगृहजस्ता क्षेत्रमा नेपालको खोज तथा उद्धार प्रयासलाई थप सुदृढ गर्नसक्ने विशिष्ट तथा विशेषज्ञ सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको उनको भनाइ थियो । मन्त्री खनालले बाढी विनाशको स्तर अत्यन्त ठूलो रहेको र उद्धार तथा राहतको चरणमा मात्र होइन, अझ बढी पुनर्निर्माणको चरणमा अन्तरराष्ट्रिय सहयोग तथा सहायता आवश्यक रहेको दोहोर्याए ।
साथै, उनले नेपालले अन्तर्राष्ट्रिय सहायता तथा सहयोग अस्वीकार गरेको भन्ने केही गलत समाचार राष्ट्रिय तथा विदेशी सञ्चारमाध्यममा प्रसारित भएको उल्लेख गर्दै त्यसको खण्डनसमेत गरे । सो अवसरमा उनले भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको र चीन, जापान, अस्ट्रेलिया तथा अन्य मित्रराष्ट्रहरूबाट पनि आजै अत्यावश्यक सामग्री प्राप्त भइरहेको उल्लेख गरे । राहत कार्य जारी रहँदा थप मूल्यांकन गरिने र आवश्यकताअनुसार थप सहायता तथा सहयोगका लागि छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्पर्क गर्ने उनको भनाइ थियो ।
परराष्ट्रमन्त्री शिशिर खनालले पछिल्लो खोज, उद्धार, राहत कार्यलगायत अन्य विषयमा जानकारी गराउँदै हालसम्म प्रभावित क्षेत्रबाट छ सय २६ जनाको शव फेला परेको र करिब दुई हजार चार सय जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए । त्यस्तै, प्रभावित क्षेत्रबाट चार हजार चार सय ५१ जनाभन्दा बढीको उद्धार गरिएको र त्यसमा एक सय ५२ जनाभन्दा बढी विदेशी नागरिक रहेका छन् । मन्त्री खनालले नेपाल सरकार निकट छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग निकट सम्पर्क र समन्वयमा रहेको बताउँदै धेरै विदेशी नागरिक पनि बेपत्ता भएकाले मन्त्रालयमा छुट्टै आपतकालीन नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिए । -प्रविन राउत