काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएकाले पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले गत बुधबार गएको बाढीपहिरोबाट नेपालमा ठूलो मानवीय र भौतिक क्षति भएकाले पनि भएकाले पनि विपद् प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताए । उनले हाल बाढीमा परेका स्वदेशी तथा विदेशी नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए । विपद्को निश्चित चरण हुने भएकाले पनि सरकारको अहिले प्राथमिकतामा उद्धार गर्ने र सकेसम्म नेपाली तथा विदेशी नागरिकको ज्यान जोगाउनेतर्फ केन्द्रित भइरहेको उनको भनाइ छ । उद्धारपछि सरकार छिट्टै राहतको चरणमा प्रवेश गर्ने उनले बताए । जहाँ मानिसलाई अस्थायी बसोबासको अवसर प्रदान गर्नुपर्ने हुन्छ । र तेस्रो चरणमा हामी पुनःस्थापना र पुनर्निर्माणमा लाग्नेछौँ । उनले भने, ‘अहिलेका लागि मानिसलाई विद्यालय वा अन्य सामुदायिक ठाउँमा राखिएको छ ।’ छिमेकी राष्ट्रहरूसँग विशेषगरी सुरुङ उद्धार र फेरेन्सिकलगायत सहायता माग गरिएको उनले बताए ।
परराष्ट्रमन्त्री खनालले सरकारले दाता सम्मेलनका विषयमा अहिलेसम्म कुनै निर्णय गरिनसकेको स्पष्ट पारे । ‘अहिलेको आपतकालीन स्थिति र विपद्को प्रकृतिलाई हेर्दा तुरुन्तै दाता सम्मेलनको कुनै समयसीमा दिन गाह्रो छ, किनकि अहिले हाम्रो ध्यान उद्धारमा बढी केन्द्रित छ’, उनले भने, ‘हामी जतिसक्दो चाँडो विपद्बाट भएको क्षति तथा नोक्सानको मूल्यांकन तयार पार्नेछौँ ।’ मन्त्री खनालले परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयबीच आवश्यक समन्वय रहेर दाता सम्मेलनका विषयमा आवश्यक निर्णय लिइने बताए । भोटकोशी बाढीले नेपालका सीमित केही जिल्लामा मात्रै प्रभाव पारेको बताउँदै उनले नेपालका काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित र खुला रहेको जानकारी दिए । उनले अन्तरराष्ट्रिय समुदायलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको सन्देश प्रवाह गर्न पनि आह्वान गरे ।