काठमाडौं, रसुवा बाढीका कारण बैंकिङ क्षेत्रमा ३५ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । यही भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै बैंकिङ क्षेत्रमा कार्यरत झण्डै तीन दर्जन कर्मचारी सम्पर्कविहीन भएका हुन् । बाढीका कारण शुक्रबार साँझसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाका ३५ जना कर्मचारी सम्पर्कविहीन भएको बैंकर्स संघले जानकारी दिएको छ ।
संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार सम्पर्कविहीन हुनेमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये नौवटा बैंकका २७ जना कर्मचारी रहेका छन् । त्यस्तै, विभिन्न लघुवित्त वित्तीय संस्थाका थप आठ जना कर्मचारी सम्पर्कविहीन रहेको देखिएको छ । सम्पर्कविहीन हुनेमा माछापुच्छ्रे बैंकका पाँच, सानिमा बैंकका दुई, लक्ष्मी सनराइज बैंकका तीन, हिमालयन बैंकका एक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात, एनएमबी बैंकका चार र प्रभु बैंकका चार कर्मचारी रहेका छन् । बाँकी आठ जना विभिन्न लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू रहेका छन् ।
संघका अध्यक्ष कोइरालाका अनुसार बाढीबाट बैंकिङ क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । उनले शुक्रबार साँझसम्म प्राप्त विवरणअनुसार ३५ जना कर्मचारी सम्पर्कविहीन रहेको जानकारी दिएका हुन् । उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे थप विवरण प्राप्त हुन सक्ने उनको भनाइ छ । भोटेकोशीको बाढीबाट क्षति पुगेको वाणिज्य बैंकहरूमध्येमा टिमुरे तथा आसपासका क्षेत्रमा रहेका ग्लोबल आईएमई बैंक र नबिल बैंकका शाखा कार्यालयमा क्षति पुगे पनि ती शाखामा कार्यरत सबै कर्मचारी भने सम्पर्कमा आइसकेको संघको भनाइ छ । यसैबीच शुक्रबार धादिङको गल्छीमा बैंकका दुईवटा भल्ट फेला परेको उद्धारमा सक्रिय सुरक्षा संयन्त्रले जानकारी दिएको छ ।
एनआईसी एसियाका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त
यसैबीच, एनआईसी एसिया बैंकका तीनवटा शाखा कार्यालय बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ । त्यस्तै, त्रिशूली शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई माटोले पुरिएको बैंकले जनाएको छ । ती शाखा कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएकाले अर्को व्यवस्था नभएसम्मका लागि बन्द रहने बैंकले स्पष्ट पारेको छ ।
यद्यपि, प्रभावित क्षेत्रमा कार्यरत एनआईसी एसिया बैंकका सबै कर्मचारी सुरक्षित स्थानमा रहेको बैंकले जनाएको छ । आवश्यक परेको अवस्थामा कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई समेत हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी अवस्थामा बैंक रहेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्रबहादुर रावलद्वारा जारी विज्ञप्तिमा बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । साथै, हालसम्म सम्पर्कमा नआएका
नागरिकको शीघ्र सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।