काठमाडौँ, काठमाडौंको भृकुटी–मण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन बुधबार पनि अवलोकनकर्ताको व्यापक सहभागिता देखिएको हो । मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार छानी–छानी बुक गरिरहेको पाइएको छ ।
एक्स्पोमा सहभागी कम्पनीहरूका अनुसार महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुचि देखिएको छ । काठमाडौंको डिल्लीबजारबाट मेला अवलोकन गर्न आएका दिनेश महर्जनले नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारका कार बुक गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले भने, ‘धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ । बिहान साढे ११ बजेदेखि अहिलेसम्ममा १८–२० वटा गाडी चढिसकेँ होला ।’ अवलोकनकर्ताहरूले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् ।
कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् । दोस्रो दिन बुधबार विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । त्यस्तै बुधबार २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । उद्घाटनको दिन २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, इ–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । एक्सपोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।