काठमाडौं, निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन रकम ५० अर्ब रुपैयाँ नाघेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्ममा कुल २९ लाख ६६ हजार एक सय ९५ वटा बीमालेख जारी गरी ५० अर्ब ६० करोड ३१ लाख २७ हजार रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५ दशमलव १२ प्रतिशतले बढी हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका थिए । प्राधिकरणका अनुसार आव २०८२/०८३ को असार मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ९६ हजार चार सय ९० वटा बीमालेख जारी गरी दुई अर्ब २१ करोड ६२ लाख नौ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४८ हजार नौ सय ४६ वटा बीमालेख जारी गरी तीन अर्ब २५ करोड २१ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि पछिल्लो अवधिमा ३१ हजार छ सय ८७ वटा बीमालेख जारी गरी एक अर्ब ५८ करोड ३७ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योेन्स कम्पनीले पनि पछिल्लो अवधिमा २६ हजार नौ सय ४२ वटा बीमालेख जारी गरी एक अर्ब २९ करोड सात लाख २७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा नेको इन्स्योरेन्स कम्पनीले तीन लाख पाँच हजार नौ सय ८२ वटा बीमालेख जारी गरी तीन अर्ब ६५ करोड ५० लाख २२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख १४ हजार छ सय १३ वटा बीमालेख जारी गरी दुई अर्ब दुई करोड २८ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा तीन लाख २६ हजार दुई वटा बीमालेख जारी गरी छ अर्ब ५१ करोड १२ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले पनि दुई लाख २३ हजार नौं सय ११ वटा बीमालेख जारी गरी चार अर्ब २० करोड ७९ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि आव २०८२/०८३ को असार मसान्तसम्ममा तीन लाख ५५ हजार पाँच सय आठवटा बीमालेख जारी पाँच अर्ब ३७ करोड ४१ लाख ७३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले एक लाख २८ हजार दुई सय तीनवटा बीमालेख जारी गरी तीन अर्ब आठ करोड २० लाख सात हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा दुई लाख ७० हजार छ सय ७९ वटा बीमालेख जारी गरी चार अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरण अनुसार आव २०८२/०८३ को असार मसान्तसम्ममा सगरमाथा इन्स्योेरेन्स कम्पनी (सलिको)ले पनि दुई लाख ६९ हजार नौ सय ९८ वटा बीमालेख जारी गरी पाँच अर्ब ४२ करोड २२ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा दुई लाख ३७ हजार सात सय आठवटा बीमालेख जारी गरी चार अर्ब ५५ करोड ११ लाख १५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा चार लाख १९ हजार पाँच सय २६ वटा बीमालेख जारी गरी तीन अर्ब ११ करोड ६२ लाख तीन हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।