काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ।त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सर्टले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै लुम्बिनीको जितको आधार तयार गरेका थिए।
आसिफ शेख ३२ रनमा आउट भए। निरोशन डिक्वेला ७ रनमा बोल्ड भए भने शमिम हुसेन १ रनमा आउट भए। कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रनमै अलआउट भएको थियो।सुदूरपश्चिमलाई सस्तोमा समेट्ने क्रममा लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे। किशोरले ४ तथा शेरले ३ विकेट लिए। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान १ विकेट लिए।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। विनोद भण्डारीले ९, सैफ जैबले १३, ब्रान्डन म्याकमुलेनले २ र इशान पाण्डेले ७ रन बनाए। शेर्फन रदरफोर्ड १ रनमा आउट भए।स्कट कुइगेलेइन र हेमन्त धामीले खाता खोल्न सकेनन्। अनिल खरेल १७ रनमा अविजित रहे।
यस खेलसँगै नेपालमा पहिलो पटक प्रयोगमा आएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) पनि एनपीएलमा प्रयोग गरिएको छ। दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लूको अपिल गरेका थिए। अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए। तर, उक्त निर्णय लुम्बिनीको पक्षमा आएन। एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।