काठमाडौं, नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन इ–मास ५ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी प्रोटोन इ–मास ५ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको हो ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको इ–मास ५ ले ग्राहकहरूलाई सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्ने कम्पनीको दाबी छ । प्रोटोन इ–मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जगदम्बा मोटर्सले प्रोटोन इ–मास ५ को नेपालमा सार्वजनिकिकरणको विशेष उपलक्ष्यमा प्राइम भेरियन्टको लागि २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको लागि ३४ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्य घोषणा गरेको छ । यी विशेष सुरुवाती मूल्यहरू पहिलो १०० ग्राहकका लागि र सीमित अवधिको लागि मात्र लागू हुने कम्पनिले जनाएको छ ।
जगदम्बा मोटर्सका एक्जेक्युटिभ डाइरेक्टर अखिल गुप्ताले विद्युतीय सवारी साधनका विकल्पहरू तिव्र गतिमा विस्तार गर्ने लक्ष्यअन्तर्गत इ–मास ५ नेपालमा ल्याएको जानकारी दिए । यसले नेपाली ग्राहकहरूका लागि अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता, उत्कृष्ट विशेषताहरू र सही मूल्यको संयोजन प्रदान गर्ने उनको दाबी छ । प्रोटोन इन्टरनेसनलका डेपुटि डाइरेक्टर लि झिदानका अनुसार प्रोटोन इ–मास ५ ले विश्वव्यापी बजारमा बलियो पहिचान बनाइसकेको छ । विश्वभरका ६ लाख १० हजारभन्दा बढी ग्राहकहरूले प्रोटोन इ–मास ५ मा प्रयोग भएको ‘प्लेटफर्म’लाई अपनाएका छन् । प्रोटोन इ–मास ५ ले उन्नत प्रविधि, भरपर्दो सुरक्षा र उत्कृष्ट मूल्यसहितका गाडीहरू उपलब्ध गराउने उनले बताए ।
कम्पनीका अनुसार प्रोटोन इ–मास ५ ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डिएसएफ भिहेकल अफ द इयर अवाड्र्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द इयर २०२६’ को उपाधी हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ । अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संगम रहेको इ–मास ५ मा ‘वायरलेस एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ । साथै, अगाडी ७० लिटरको फ्रन्ट ट्रंक (फ्रंक) र पछाडी ३७५ लिटरको ‘एक्पान्डेबल रियर लगेज कम्पार्टमेन्ट’सहित उपयोगितालाई ध्यानमा राख्दै बनाइएका सामान राख्न गर्न मिल्ने ३२ वटा विभिन्न ठाउँहरू (स्टोरेज कम्पार्टमेन्ट्स) रहेका छन् । मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारीमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ ।